वीरगन्ज-
पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार रामनरेश यादव ले आज वीरगन्जको भिष्वा क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै चुनावी प्रचारलाई तीव्र बनाएका छन्। वीरगन्ज महानगरपालिका वडा नं. १५ का मतदाताहरूको घरदैलोमै बिहान पुगेका यादवसहित पार्टीका नेता–कार्यकर्ताले जसपाको चुनाव चिन्ह ‘छाता’मा मतदान गर्न आग्रह गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार यादवले मधेसी अधिकारको सुरक्षा तथा थप अधिकार सुनिश्चित गर्न जसपालाई मतदान गर्न अपिल गरे। मतदातासँग भेटघाट गर्दै उनले लामो समयदेखि ओझेलमा परेका मधेसका मुद्दा सम्बोधन गर्न प्रतिनिधिसभामा जसपाको बलियो उपस्थिति आवश्यक रहेको बताए।
घरमै पुगेका उम्मेदवारसँग भेट्दा मतदाताहरूले मधेसको अधिकारका लागि अग्रणी भूमिका खेलेको पार्टीलाई नै मतदान गर्ने आश्वासन दिएको जसपा महानगर अध्यक्ष धनश्यामबाबु गुप्ताले जानकारी दिए। उनका अनुसार मतदाताहरू जसपा उम्मेदवारप्रति सकारात्मक देखिएका छन् र आसन्न प्रतिनिधिसभा निर्वाचनमा ‘छाता’ चिन्हलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरिरहेका छन्।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय महासचिव तथा मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत, केन्द्रीय सदस्य शशिकपुर मियाँ, श्यामबाबु चौरसिया, सुधिरनाथ पाण्डे, रेखा सह, जिल्ला सचिव रितेश गुप्ता, जिल्ला कार्यसमिति सदस्य सुनील शर्मा, महानगर अध्यक्ष धनश्यामबाबु गुप्ता, पर्सा क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष सुन्दर साह कानु लगायत नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।













