वीरगन्ज-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तले आज वीरगन्जको मुर्ली क्षेत्रमा भिन्न शैलीमा घरदैलो गरेका छन्। चुनावी प्रचारप्रसारका क्रममा मुर्ली पुगेका पन्तलाई स्थानीयले काँबर बोकाएर नगर परिक्रमा गराएका हुन्।
मुर्लीका स्थानीयले पन्तलाई स्वागत गर्दै काँधमा काँबर राखिदिएका थिए। उक्त काँबरको अघिल्लो र पछिल्लो दुवै भागमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका प्रमुख एवं स्वतन्त्र नेता बालेन साहको तस्बिर झुन्ड्याइएको थियो। रास्वपाको पक्षमा जनलहर सिर्जना गर्न स्थानीयले यो रचनात्मक शैली अपनाएको बताएका छन्।
घरदैलोका क्रममा मुर्लीबासीले उम्मेदवार पन्तलाई ठाउँ-ठाउँमा टीका, माला र खादा लगाएर भव्य स्वागत गरेका थिए। स्थानीय मतदाताले यसपटक परिवर्तनको पक्षमा मतदान गर्ने बताउँदै आफ्नो वडाबाट रास्वपालाई नै भारी मतले अगाडि बढाउने (लिड गराउने) सामूहिक प्रतिबद्धता समेत जनाएका छन्।
घरदैलो कार्यक्रममा रास्वपाका स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो। बाजागाजा र नाराबाजीसहित निकालिएको र्यालीले मुर्ली क्षेत्रको चुनावी माहोललाई थप तताएको छ।
मधेसको सांस्कृतिक पहिचान झल्किने ‘काँबर’ र युवा पुस्ताका प्रिय नेताहरूको तस्बिरसहितको यो घरदैलोले अहिले सामाजिक सञ्जालमा पनि चर्चा पाइरहेको छ।













