वीरगन्ज –
आसन्न निर्वाचनको सरगर्मी बढ्दै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी रौनकले नयाँ उचाइ लिएको छ। यसै क्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाल का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामनरेश यादव शनिबार मतदाताको आँगनमा पुग्दा दृश्य निकै भावुक र उत्साहजनक देखियो।
गाउँ पसेका उम्मेदवार यादवलाई स्थानीय ज्येष्ठ नागरिक र आमाहरूले घरको दैलोमै दही र अक्षता लगाई, माला पहिर्याएर आशिर्वाद दिएका थिए। यो केवल चुनावी भेटघाट मात्र थिएन, एउटा गहिरो भरोसाको प्रतीक पनि देखिन्थ्यो।
वर्षौँदेखि आफ्नै मतबाट सभासद र मन्त्री बनेका नेताहरूले व्यक्तिगत स्वार्थका लागि मधेस विरोधी शक्तिसँग हात मिलाएको भन्दै स्थानीय मतदाताहरूले आक्रोश पोखे। “हाम्रो मतको अपमान गर्नेहरूलाई अब ठाउँ छैन,” एक स्थानीयले भावुक हुँदै भने, “हामीलाई पदको लोभी होइन, रामनरेश यादव जस्तो शालीन र इमानदार नेता चाहिएको छ। उहाँलाई जिताउन हामी एक ढिक्का छौँ।”
उम्मेदवार यादवसँगै हिँडेका सयौँको संख्यामा रहेका गाउँलेहरूले विगतका गल्ती नदोहोर्याउने र यसपटक इमानदारिताको पक्षमा उभिने सामूहिक प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सहभागी पार्टीका विभिन्न संगठनका नेता तथा कार्यकर्ताहरूलाई समेत स्थानीयले भव्य स्वागत गर्दै चुनावी अभियानमा ऊर्जा थपेका थिए।
आफ्नो स्वागतमा उर्लिएको जनसागर र पाएको आशिर्वादले उम्मेदवार यादव निकै उत्साहित देखिनुभयो। उहाँले जनताको यो माया र विश्वासलाई कहिल्यै मर्न नदिने र सधैँ मधेसको हकहितमा अडिग रहने पुन: प्रतिबद्धता जनाउनुभयो।













