रौतहट-
रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलास्थित नमुना सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा अज्ञात समूहले लगाएको भीषण आगलागी करिब ३० घन्टाको कठिन प्रयासपछि मात्रै नियन्त्रणमा आएको छ। बिहीबार दिउँसो सुरु भएको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनकर्मी तथा अन्य सुरक्षाकर्मीको संयुक्त परिचालनपछि शुक्रबार साँझ नियन्त्रणमा लिइएको हो।
घटनास्थलमा गौरस्थित नारायणदल गणबाट दमकलसहित नेपाली सेनाको टोली खटिएको थियो। त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन सुरक्षा टोली र वन कार्यालयका कर्मचारीहरू निरन्तर आगो निभाउन सक्रिय रहेका थिए। डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्त कुमार साहका अनुसार सबै निकायको लगातार प्रयासपछि मात्रै आगो नियन्त्रणमा लिन सम्भव भएको हो।
आगलागीका कारण वनभित्र २७ स्थानमा घाटगद्दी गरी राखिएको करिब ८ देखि १० हजार क्युफिटभन्दा बढी सालको गोलिया काठ जलेको प्रारम्भिक अनुमान गरिएको छ। उक्त काठ २०७६ सालमा ४ सय केभी प्रसारण लाइन विस्तारका क्रममा काटिएको र पछि सोही वनक्षेत्रमा संकलन गरी राखिएको थियो।
घटनापछि प्रदेशका वन मन्त्री शंकर चौधरी, वन निर्देशक जगरनाथ प्रसाद जैसवाल, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, नेपाली सेनाका कर्णेल विश्वास बिष्ट, प्रहरी प्रमुख (एसपी) सिताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुमार बुढाथोकी लगायत सुरक्षा अधिकारीहरू घटनास्थल पुगेर निरीक्षण तथा नियन्त्रण कार्यमा चासो दिएका थिए।
डिभिजन प्रमुख साहले आगो नियन्त्रणमा ढिलाइ हुनुमा सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरूको निष्क्रियता पनि जिम्मेवार रहेको गुनासो गरे। उनका अनुसार समुदायले जिम्मा लिएको वन क्षेत्रमा घटना हुँदा सबैभन्दा पहिले उपभोक्ता समिति नै सक्रिय हुनुपर्ने भए पनि यस घटनामा आवश्यक तत्परता नदेखिँदा क्षति बढेको हो।
उनले उपभोक्ता समूहले लामो समयदेखि लेखापरीक्षण र साधारणसभा नगरेकाले काठ बिक्री प्रक्रिया अघि बढ्न नसकेको उल्लेख गर्दै सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको जानकारी दिए।
प्रहरीले आगलागी नियतवश गराइएको हुन सक्ने आशंका गर्दै वास्तविक कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ। गौरबाट ल्याइएको नेपाली सेनाको दमकल हाल वन कार्यालयमै तयारी अवस्थामा राखिएको र आवश्यक परे पुनः निरीक्षण गरी पानी हाल्ने व्यवस्था मिलाइएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।














