२०८२ फाल्गुन २ गते, शनिबार २०:४३

पर्सामा रास्वपाको बढ्दो ‘क्रेज’: टोल-टोलबाट स्वस्फूर्त पार्टी प्रवेशको लहर

वीरगन्ज-

पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा जनलहर ह्वात्तै बढेको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लाका विभिन्न टोलहरूमा स्थानीयवासीहरू स्वस्फूर्त रूपमा रास्वपाका प्रतिनिधि खोज्दै पार्टी प्रवेश गर्न थालेका छन्। विशेषगरी रास्वपाका वरिष्ठ नेता बालेन साहको वीरगन्ज ‘रोड शो’ पछि यहाँको राजनीतिक वातावरणमा ठूलो फेरबदल आएको र रास्वपाप्रति आकर्षण बढेको देखिएको छ।

यसैक्रममा, शुक्रबार राति र शनिबार बिहान गरी पर्सा निर्वाचन क्षेत्र नं. १ का विभिन्न स्थानमा ५०० भन्दा बढी पेशाकर्मी, सामाजिक अभियन्ता र प्रतिष्ठित व्यक्तित्वहरू रास्वपामा प्रवेश गरेका छन्।

शुक्रबार अबेर राति परवानीपुरमा स्थानीय युवा अभियन्ता प्रदीप साहको नेतृत्वमा आयोजित एक विशेष कार्यक्रममा ठूलो संख्यामा विभिन्न पेशामा आबद्ध व्यक्तिहरू रास्वपामा समाहित भए। त्यसैगरी, शनिबार बिहान भिस्वामा कृष्ण श्रेष्ठ, सन्देश श्रेष्ठ र राजेश श्रेष्ठको नेतृत्वमा अर्को भव्य कार्यक्रम सम्पन्न भयो। दुवै कार्यक्रममा गरी करिब ५०० भन्दा बढी विशिष्ट व्यक्तिहरूलाई रास्वपा पर्साका जिल्ला सभापति एवं क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि पन्तले माला र खादा लगाएर पार्टीमा स्वागत गरे।

पार्टी प्रवेश गर्नेहरूमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका अभियन्तादेखि बौद्धिक वर्गसम्म रहेका छन्, जसले गर्दा रास्वपाको सांगठनिक बल झन् दरिलो बनेको छ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै सभापति हरि पन्तले पुराना राजनीतिक दलहरू र तिनका नेतृत्वप्रति कडा प्रहार गरे। उनले जनताको समस्यामा साथ दिनुको साटो “हेलिकप्टरमा झुण्डिएर भाग्ने” प्रवृत्तिका पुराना दल र उम्मेदवारलाई यसपटकको निर्वाचनमा बहिष्कार गर्न आम मतदातालाई आग्रह गरे। पन्तले अबको निकास र विकास केवल रास्वपाबाट मात्र सम्भव रहेको दाबी समेत गरे।

पार्टी प्रवेशको लहरसँगै उम्मेदवार पन्तले शनिबार नै वीरगन्जको गहवा क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलोका क्रममा स्थानीयवासीले उनीप्रति अपार माया र सद्भाव दर्साएका थिए। टोल-टोलमा मतदाताहरूले उनलाई टीका, माला र खादाले भव्य स्वागत गर्दै उत्साहजनक सहभागिता जनाएका थिए।

स्थानीयहरूको स्वस्फूर्त उपस्थिति र रास्वपाप्रतिको यो आकर्षणले पर्सा क्षेत्र नं. १ मा यसपटकको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने र घण्टीको प्रभाव बलियो रहने राजनीतिक विश्लेषकहरूको आकलन छ।

बारामा नेकपालाई ठूलो झट्का: प्रदेश सदस्य रविन्द्र यादवको नेतृत्वमा सयौँ कार्यकर्ता राष्ट्रिय एकता दलमा प्रवेश

बारा- बारामा आसन्न निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक समीकरणमा ठूलो फेरबदल आएको

बारामा नेकपालाई ठूलो झट्का: प्रदेश सदस्य रविन्द्र यादवको नेतृत्वमा सयौँ कार्यकर्ता राष्ट्रिय एकता दलमा प्रवेश

बारा- बारामा आसन्न निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक समीकरणमा ठूलो फेरबदल आएको

पोडकास्ट सुन्नुहोस