२०८२ फाल्गुन ३ गते, आईतवार १८:१८

चुनाव भए एमाले भाग लिन्छ, तर वातावरण अझै अस्पष्ट : केपी शर्मा ओली

काठमाडौं –

केपी शर्मा ओलीले देशमा निर्वाचन हुने सम्भावना देखिए पनि त्यसका लागि आवश्यक वातावरण अझै स्पष्ट रूपमा तयार नभएको बताएका छन्।

आइतबार झापास्थित भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेको अवस्थालाई हेर्दा चुनावको माहोल बनेको छ भनेर ठोकुवा गर्न सकिने स्थिति नरहेको उल्लेख गरे।

यद्यपि, चुनाव घोषणा भएमा आफ्नो पार्टी नेकपा एमाले पूर्ण रूपमा सहभागी हुने उनको स्पष्ट भनाइ थियो। “चुनाव हुने भयो भने हामी भाग लिन्छौं, तर वातावरण बनेको छ भनेर अहिले नै भन्न सकिँदैन,” उनले भने।

सञ्चारकर्मीको जिज्ञासामा ओलीले अन्ततः चुनाव हुने विश्वास व्यक्त गर्दै भने, “चुनाव त हुन्छ भन्ठान्छु अब।” उनले चुनावी वातावरणको वास्तविक अवस्थाबारे सरकार नै बढी जानकार हुने टिप्पणी गर्दै आफूहरूलाई अझै पर्याप्त तयारी र माहोल नदेखिएको धारणा राखे।

चुनावी अभियान सुरु भएमा सकेसम्म देशभरि पुगेर कार्यकर्ता र मतदातासँग भेटघाट गर्ने योजना पनि उनले सुनाए।

पोडकास्ट सुन्नुहोस