२०८२ फाल्गुन ४ गते, सोमबार २०:५५

स्वार्थ पूर्तिका लागि मधेसविरोधी पार्टीमा जाने बहुरूपियाबाट सावधान रहन आग्रह : पूर्वमुख्यमन्त्री गद्दी

मधेसीलाई अधिकार सम्पन्न जसपाले नै बनाउँछ : उम्मेदवार यादव

वीरगन्ज-

जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव तथा मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दीले सत्तास्वार्थमा केन्द्रित बहुरूपिया उम्मेदवारहरूबाट सावधान रहन आम मतदातालाई अपिल गर्नुभएको छ। उहाँले मधेसीलाई सधैँ अपमानित गर्ने र अधिकार दिन नचाहने नेकपा एमालेका उम्मेदवार अहिले मधेसीको हितैसी भएको नाटक मञ्चन गरिरहेकाले त्यस्ता बहुरूपियाबाट सचेत रहँदै सही उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो।

वीरगन्ज महानगरपालिका वडा नं. ३१ बेलवामा सोमबार जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री गद्दीले मधेसीको पहिचान र अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको जसपाको छाता चुनाव चिन्हमा मतदान गर्न मतदातालाई अपिल गर्नुभयो। जसपाले दुई पटक सांसद र तीन पटक मन्त्री बनाएका व्यक्ति आफ्नो स्वार्थ पूर्तिका लागि जसपालाई कमजोर पार्दै घोर मधेसविरोधी पार्टीबाट उम्मेदवार बनेको उल्लेख गर्दै उहाँले त्यस्ता स्वार्थी व्यक्तिबाट सावधान रहन आग्रह गर्नुभयो।

०६२/०६३ सालतिर “राजा आऊ, देश बचाऊ” भन्ने नारा लगाउने व्यक्ति अहिले संविधान रक्षाको कुरा गर्दै आम नागरिकलाई भ्रममा पार्ने प्रयास गरिरहेको भन्दै त्यस्ता छद्मभेषीबाट सावधान हुन नेता गद्दीले आग्रह गर्नुभयो।

बेलवाका अगुवा नेता शेष अकलुको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा नेपाल पर्साका अध्यक्ष तथा पर्सा क्षेत्र नं. १ का उम्मेदवार रामनरेश यादवले जनताको मत ठग्न केही बहुरूपिया उम्मेदवारहरू सक्रिय रहेको भन्दै सचेत रहन सबैलाई आग्रह गर्नुभयो। उहाँले मधेसी अधिकारका लागि सधैँ जसपा नेपालले संघर्ष गरेको र बाँकी अधिकार पनि यही पार्टीले दिलाउने भएकाले छाता चुनाव चिन्हमा मतदान गर्न अपिल गर्नुभयो।

स्वार्थका लागि पार्टी परिवर्तन गर्ने, पहिचान र सम्मान दिएको पार्टीका अध्यक्षलाई नै गाली गर्ने व्यक्ति जनताको हितैसी हुन नसक्ने बताउँदै उहाँले स्वार्थपूर्तिका लागि बहुरूप धारण गर्नेहरूबाट सावधान रहन आग्रह गर्नुभयो। मधेसी सहिदको रगत बेचेर सत्तालिप्सामा रहने नेतालाई मत दिनु सहिदको अपमान हुने भएकाले मधेसको अधिकारका लागि लड्दै आएको जसपाका उम्मेदवारलाई मतदान गर्न उहाँले अनुरोध गर्नुभयो।

जसपा नेपाललाई धोका दिई हालै एमालेमा प्रवेश गरेका उम्मेदवारले वीरगन्जवासीलाई पानी खुवाएको दाबी गरिरहेको उल्लेख गर्दै यादवले २ लाखमा बन्ने डिप बोरिङ ७ लाखमा जडान गरिएको विषयले भ्रष्टाचारको आशंका जन्माएको बताउनुभयो। त्यस्ता भ्रष्ट, बहुरूपिया र स्वार्थी व्यक्तिलाई मत दिए वीरगन्जको विकास अवरुद्ध हुने उहाँको दाबी थियो। जनतालाई धोका दिने प्रवृत्तिका व्यक्तिले जनहितमा कहिल्यै काम गर्न नसक्ने भन्दै उहाँले जसपाका योग्य उम्मेदवारलाई मत दिन सबैसँग अपिल गर्नुभयो।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा युवाहरू जसपामा प्रवेश गरेका थिए। नवप्रवेशीहरूलाई पूर्वमुख्यमन्त्री गद्दी र क्षेत्र नं. १ का उम्मेदवार रामनरेश यादवले फूलमाला र अबिरको टीका लगाई स्वागत गर्नुभएको थियो।

पोडकास्ट सुन्नुहोस