वीरगन्ज-
नेपाली कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्दै वीरगन्जको छपकैयामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल कुमार रुङ्गटाले घरदैलो अभियान अघि बढाएका छन्। पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार रुङ्गटाले वीरगन्ज महानगरपालिका वडा नं. २, छपकैयाका मतदाताको घरआँगनमा पुगेर नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा मतदान गर्न अपिल गरेका छन्।
छपकैयावासीको घरदैलोमा पुगेका उम्मेदवार रुङ्गटाले कांग्रेस नेतृत्वको सरकारले मधेसका बाँकी मुद्दा संविधान संशोधनमार्फत समाधान गर्ने तथा देशमा शान्ति र स्थिरता कायम राख्ने भएकाले रुख चिन्हमा मतदान गर्न सबैसँग आग्रह गरे।
नेपाली कांग्रेस वीरगन्ज महानगरपालिका वडा नं. २ का बूथ सभापति फिरोज आलमको अगुवाइमा सञ्चालन गरिएको घरदैलो कार्यक्रमलाई उम्मेदवार रुङ्गटाले भोट माग्ने अवसर मात्र नभई आम जनताको राय, सुझाव र समस्या बुझ्ने अवसरका रूपमा लिएको पार्टीका नेताहरूले बताएका छन्।
कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले नेपाली कांग्रेस जनताको पार्टी भएकाले घरदैलो कार्यक्रमलाई जनमत संकलन अभियानको रूपमा समेत लिइएको जानकारी दिए। चुनाव प्रचारका क्रममा आम जनताले राखेका राय–सुझावलाई लिपिबद्ध गर्दै आगामी दिनमा ती समस्याको समाधान गर्ने रणनीतिअनुसार काम भइरहेको उनले बताए।
घरदैलोपछि सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार रुङ्गटाले छपकैयावासीबाट आफूले धेरै माया र साथ पाएको बताए। घरदैलोका क्रममा स्थानीयले सडक, नाला व्यवस्थापन, बढ्दो बेरोजगारी तथा समाजमा बढ्दै गएको असुरक्षाजस्ता विषयमा चासो व्यक्त गरेको उनले जानकारी दिए।
वीरगन्ज–पथलैया औद्योगिक करिडोरलाई व्यवस्थित गर्दै नयाँ उद्योग भित्र्याउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने सोचसहित कांग्रेस अघि बढेको उम्मेदवार रुङ्गटाले बताए। युवालाई विदेशिनु नपर्ने अवस्था सिर्जना गर्दै स्वदेशमै सम्भावना विस्तार गर्नु आफ्नो प्राथमिकता रहेको उनले उल्लेख गरे।
सुशासन र विकास कांग्रेसका मुख्य एजेन्डा भएकाले युवाको मागलाई कांग्रेसले सम्बोधन गर्ने उनले बताए।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव एम्तियाज आलम, वडा नं. २ का वडाध्यक्ष रेयाज अहमद, नेपाल महिला संघकी केन्द्रीय सदस्य किरण सरकार, क्षेत्रीय उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका नेता, वरिष्ठ कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।













