वीरगन्ज-
नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ पत्रकार दीपेन्द्र चौहानलाई पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरेको छ।
ललितपुरस्थित बी.पी. स्मृति भवनमा रहेको पार्टीको केन्द्रीय कार्यालयबाट माघ २९ गते जारी गरिएको नियुक्ति पत्रमार्फत चौहानलाई सो जिम्मेवारी दिइएको जानकारी सार्वजनिक गरिएको हो। आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन तथा समानुपातिकतर्फको मतभार बढाउन चुनाव प्रचार–प्रसारलाई थप प्रभावकारी, समन्वयात्मक र व्यवस्थित बनाउने उद्देश्यका साथ उनलाई यो महत्वपूर्ण जिम्मेवारी दिइएको हो।
पत्रकारिता क्षेत्रमा चौहानको लामो अनुभव, सक्रियता र सञ्चारमाध्यमसँगको सुमधुर समन्वयले पार्टीको चुनावी अभियानलाई परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास कांग्रेसले लिएको छ। विशेष गरी मधेस प्रदेश र सञ्चार क्षेत्रमा उनको राम्रो पकड रहेकाले पार्टीको एजेण्डाहरूलाई जनस्तरसम्म पुर्याउन उनले विशेष सहयोग पुग्ने देखिन्छ।
पार्टीका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेद्वारा हस्ताक्षरित नियुक्ति पत्र प्राप्त गरेपछि चौहानले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक र परिणाममुखी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “पार्टीले मप्रति देखाएको विश्वासका लागि म कृतज्ञ छु, कांग्रेसको चुनावी एजेण्डा र लोकतान्त्रिक मूल्य–मान्यतालाई आम नागरिकसम्म पुर्याउन म दत्तचित्त भएर लाग्नेछु।”
चौहानको नियुक्तिले चुनावी प्रचार–प्रसारलाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउन सहयोग पुग्ने नेताहरूको विश्वास छ।













