२०८२ फाल्गुन ५ गते, मंगलवार १८:२०

बेलवामा जसपाको घरदैलो, सचेत मतदाताले जसपालाई नै भोट दिन्छन् : उम्मेदवार यादव

वीरगन्ज-

मधेसी अधिकारको अगुवाइ गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालले आज वीरगन्जको बेलवामा चुनाव प्रचार गर्दै मतदातालाई पार्टीको चुनाव चिन्ह ‘छाता’ छापमा मतदान गर्न अपिल गरेको छ। पर्सा निर्वाचन क्षेत्र नं. १ का लागि जसपाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामनरेश यादवको अगुवाइमा चुनाव प्रचार कार्यक्रम सम्पन्न भएको हो।

वीरगन्ज महानगरपालिका वडा नं. ३१ मा पर्ने बेलवाका घरदैलोमा पुगेर उम्मेदवार यादवले मधेसीलाई पहिचान र सम्मान दिलाउने जसपाको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो। घरदैलोका क्रममा स्थानीय बासिन्दाले मधेसीलाई अपमानित गर्ने पक्षलाई मत नदिने धारणा व्यक्त गरेको जसपा वीरगन्ज महानगर अध्यक्ष धनश्यामबाबु गुप्ताले जानकारी दिनुभयो।

मधेस आन्दोलनमा सक्रिय सहभागिता जनाएका बेलवावासीले उम्मेदवार यादवसँग भेट्दै मधेसीको पहिचान र सम्मानसँगै आरक्षणमार्फत सरकारी सेवामा अवसर प्रदान गर्ने जसपा नेपालका उम्मेदवारलाई नै मतदान गर्ने आश्वासन दिएको उहाँले दाबी गर्नुभयो।

घरदैलोपछि सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार यादवले मधेसी मुद्दाप्रति अत्यन्त सचेत रहेका बेलवावासीले जसपाको ‘छाता’ छापमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो। विगतका चुनावबाट पाठ सिक्दै यसपटक चिप्ला कुरा गर्ने र पैसा खर्च गरी चुनाव जित्ने सोच राख्ने उम्मेदवारलाई मतदाताले कडा जवाफ दिने संकेत बेलवामा देखिएको उहाँको भनाइ थियो।

मतदाता सचेत भएकाले यसपटकको चुनावमा बहुरूपिया उम्मेदवारले जे गरे पनि मत नपाउने निर्णय मतदाताले गरिसकेको उम्मेदवार यादवले दाबी गर्नुभयो।

कार्यक्रममा जसपा महासचिव तथा मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दी, पार्टीका केन्द्रीय सदस्यहरू वीरेन्द्र यादव, रेखा साह, बलिराम यादव, सुरेन्द्र कुर्मी, शशिकपुर मियाँ, जसपा पर्सा क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष सुन्दर साह कानु, रितेश गुप्ता लगायत नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

पोडकास्ट सुन्नुहोस