वीरगन्ज –
प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसप्रति युवा र महिलाको आकर्षण बढ्दै गएको छ। प्रतिनिधि सभा निर्वाचन हुन १७ दिन बाँकी रहँदा वीरगन्जको मुर्लीमा विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा महिला तथा युवाहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
वीरगन्ज महानगरपालिका वडा नं. १३ मुर्लीमा सोमबार आयोजित कार्यक्रममा नेकपा एमाले र जनता समाजवादी पार्टी परित्याग गरेका १५० पुरुष र १०० महिला गरी करिब अढाई सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन्। नेपाली काँग्रेस मुर्लीका बूथ सभापति कबिर अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसकी सहमहामन्त्री डा. डिना सङ्ग्रौला पन्त र पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुङ्गटाले गम्छा ओढाएर नवप्रवेशीहरूलाई स्वागत गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ सङ्ग्रौलाले देशको सबैभन्दा ठूलो परिवर्तन गर्ने शक्ति नेपाली काँग्रेस नै भएकाले काँग्रेसका उम्मेदवारलाई भारी मतले विजयी बनाउन अपिल गर्नुभयो। उहाँले देश विकास र समृद्धि ल्याउने हैसियत काँग्रेस बाहेक अन्य दलमा नभएको उल्लेख गर्दै युवाको सुखद भविष्य, सकारात्मक परिवर्तन र राष्ट्र विकासका लागि काँग्रेसको ‘रुख’ छापमा मतदान गरी योग्य उम्मेदवार अनिल रुङ्गटालाई विजयी बनाउन आग्रह गर्नुभयो।
नवप्रवेशी महिला तथा युवाहरूलाई स्वागत गर्दै उम्मेदवार रुङ्गटाले वीरगन्जवासीबीच रहेको सद्भावलाई व्यक्तिगत राजनीतिक लाभका लागि बिगार्ने बहुरूपियाबाट सावधान रहन मतदातालाई आग्रह गर्नुभयो। बिहान एक समुदायसँग र राति अर्का समुदायबीच भ्रम फैलाएर वीरगन्जको शान्ति र भाइचारामा खलल पुर्याउने तत्वलाई पराजित गर्दै भाइचारा र सद्भावको पक्षमा मतदान गर्न उहाँले अपिल गर्नुभयो।
हिमाल, पहाड र तराईलाई जोड्दै समाजमा भाइचारा र शान्ति कायम गर्ने पार्टी नेपाली काँग्रेस भएकाले ‘रुख’ छापमा मतदान गरी शान्ति र भाइचारालाई जिताउन सबै मतदातासँग उम्मेदवार रुङ्गटाले अनुरोध गर्नुभयो।
कार्यक्रममा नेपाली काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह तथा स्थानीय युवा नेताहरूले पनि सम्बोधन गर्दै उम्मेदवार अनिल रुङ्गटालाई मतदान गर्न आग्रह गर्नुभयो। वक्ताहरूले वीरगन्जमा जलसंकट भएको बेला नागरिकलाई पानी उपलब्ध गराउने बहानामा २ लाखको डिप बोरिङ ७–८ लाखमा जडान गरी भ्रष्टाचार गर्ने बहुरूपियाले नागरिकको हित कहिल्यै नगर्ने भएकाले योग्य र इमान्दार काँग्रेस उम्मेदवार अनिल रुङ्गटालाई विजयी बनाउन ‘रुख’ छापमा मतदान गर्न आग्रह गरे।













