काठमाडौं –
नेपाली कांग्रेसले आज जनकपुरमा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गर्न लागेको छ । नेपाली कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुन लागेको प्रतिज्ञा सभामा प्रतिज्ञा पत्र सार्वजनिक गरिने भएको हो ।
प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मधेसको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यो प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रूपमा कांग्रेसले लिएको छ ।
मधेसको माटोले सधैँ प्रजातन्त्र, समावेशिता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको कांग्रेसका नेताहरूले बताउने गरेका छन् ।
मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेन्डाका रूपमा आत्मसात् गरेको नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवको भनाइ छ ।
यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति गगन कुमार थापा स्वयं मधेसको जिल्ला सर्लाही क्षेत्र नं ४बाट उम्मेदवार बनेर मधेसको जनतासँग प्रत्यक्ष जोडिनुभएको छ । यो केवल चुनावी रणनीति मात्र नभई मधेस र राष्ट्रिय राजनीतिबिचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो ।’
मधेसको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापारको विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट कार्य योजनासहित कांग्रेस अगाडि बढ्ने यादवको अठोट छ ।
प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको उनले जानकारी दिए ।
जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञा पत्रका बारेमा काठमाडौँमा पनि पत्रकार सम्मेलन गरेर जानकारी दिइने भएको छ ।
आज दिउँसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेले प्रतिज्ञा पत्रबारे जानकारी दिने कांग्रेसले जनाएको छ ।














