२०८२ फाल्गुन ६ गते, बुधबार १९:१२

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माद्वारा पार्टी परित्याग

वीरगन्ज-

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन्। हाल केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जनाइएको छ।

विज्ञप्ति जारी गर्दै शर्माले पार्टीभित्र इमानदार व्यक्तिहरूको उचित मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको गम्भीर आरोप लगाएकी छन्। आर्थिक अपारदर्शिता र निर्णय प्रक्रियामा देखिएको विकृतिले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा आघात पुगेको उल्लेख गर्दै उनले यस्तो परिस्थितिमा मौन रहिरहन नसक्ने बताएकी छन्।

उनले विज्ञप्तिमा भनेकी छन्, “आर्थिक अनियमितताबाट प्रेरित निर्णयहरूले मेरो आत्मसम्मान र राजनीतिक मूल्यमाथि आँच आउने अवस्था सिर्जना गरेको छ। यस्ता गतिविधिहरूको साक्षी बनेर अब मौन बस्न सक्दिनँ। त्यसैले आजकै मितिदेखि लागू हुने गरी यस पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेश गर्दछु।”

यसअघि पनि टिकट वितरणका क्रममा आर्थिक चलखेल भएको आरोप लगाउँदै रास्वपाका केही नेताहरूले पार्टी त्याग गरिसकेका थिए। शर्माको बहिर्गमनसँगै मधेश प्रदेशमा पार्टीको आन्तरिक अवस्थाबारे थप बहस सुरु हुने देखिएको छ।

पोडकास्ट सुन्नुहोस