२०८२ फाल्गुन ६ गते, बुधबार १८:५९

लेखापढी व्यवसायीको धम्कीपछि मालपोत पर्साका प्रमुख कडा सुरक्षाबीच काम गर्न बाध्य

वीरगन्ज-

लेखापढी व्यवसायीले धम्की दिएपछि भूमि सुधार तथा मालपोत कार्यालय पर्साका प्रमुख खेमराज खत्री उच्च सुरक्षा व्यवस्थाबीच कार्यालयको नियमित काम गर्न बाध्य भएका छन्। लेखापढी व्यवसायी ओमप्रकाश यादवले कालोमोसो दल्ने तथा कुटपिट गर्ने धम्की दिएपछि प्रमुख खतरी सुरक्षाकर्मीको कडा निगरानीमा काम गर्न बाध्य भएका हुन्।

शुभलाभ लेखापढी भू–सेवा केन्द्रमा कार्यरत यादवले आफूले भनेको काम नगरे कालोमोसो दल्दै कुटपिट गर्ने धम्की दिएको कार्यालय प्रमुख खतरीले जानकारी दिनुभयो। धम्कीपछि उहाँ नेपाली प्रहरी र सशस्त्र प्रहरीको सुरक्षाबीच कार्यालयमा काम गरिरहनुभएको छ।

वीरगन्ज महानगरपालिका वडा नं. २५ खलवाटोला, सिर्सियास्थित कित्ता नं. २६४ को ४ कठ्ठा ३ धुर जग्गा भारतका नागरिक अनिल कुमारको नाममा नामसारी नगरे कालोमोसो दल्ने धम्की दिएको प्रमुख खत्रीले बताउनुभयो। उक्त जग्गा भारत, बिहार रक्सौल पन्टोका निवासी देवनारायण साहको नाममा दर्ता कायम रहेको र छानबिनपछि मात्रै नामसारी प्रक्रिया अगाडि बढाउने बताएपछि यादवले गालीगलौज तथा धम्की दिएको उहाँको भनाइ छ।

भारतीय नागरिकको नाममा रहेको जग्गा नाति अनिल कुमारको नाममा सार्न दबाब दिँदा अन्य व्यक्ति हकदार हुन सक्ने भएकाले राष्ट्रिय पत्रिकामा ३५ दिने सूचना प्रकाशित गर्न सुझाव दिँदा यादवले फोन तथा कार्यालयमै आएर कर्मचारीहरूको अगाडि धम्की दिएको विषयमा प्रमुख खत्रीले पर्साका प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहाललाई जानकारी गराउनुभएको थियो। त्यसपछि कार्यालयमा सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो।

यादवसँगै वीरगन्ज महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष शम्भु मिश्रले पनि उक्त जग्गा अनिलको नाममा गर्न दबाब दिँदै गाली गरेको विषय प्रजिअलाई जानकारी गराइएको प्रमुख खतरीको भनाइ छ। साथै, आफूले भनेअनुसार काम नगरेको भन्दै विभिन्न पत्रपत्रिका तथा अनलाइनमार्फत झुटा र भ्रामक समाचार प्रकाशन गराई मानहानि गर्ने प्रयास भएको पनि उहाँले बताउनुभयो। यस विषयमा छानबिन गरी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा लिखित उजुरी दर्ता गराइएको छ।

यसैबीच लेखापढी व्यवसायी यादवले भने आफूले कुनै धम्की नदिएको दाबी गर्नुभएको छ। उल्टै कार्यालय प्रमुखले नै गाली गरेको र त्यसको फोन रेकर्ड आफूसँग सुरक्षित रहेको उहाँको भनाइ छ।

कार्यालय प्रमुखको उजुरीका आधारमा पर्सा प्रहरीले यादवलाई सोधपुछका लागि मंगलबार अपराह्न जिल्ला प्रहरी कार्यालयमा बोलाएको थियो। सोधपुछपछि प्रहरीले उहाँलाई छाडेको र उक्त विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ।

पोडकास्ट सुन्नुहोस