वीरगन्ज-
नेकपा एमालेका प्रभावशाली नेता बसरुद्दीन अन्सारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसले बुधबार जनकपुरमा आयोजना गरेको प्रतिज्ञा सभामा हजारौँ नेता–कार्यकर्ताबीच पार्टी सभापति गगन थापाले खादा र माला लगाएर अन्सारीलाई पार्टीमा स्वागत गरेका हुन्।
अन्सारीको कांग्रेस प्रवेशले पर्सा क्षेत्र नं. १ मा नेपाली कांग्रेस थप बलियो बनेको छ भने एमालेलाई एक कदम पछाडि पारेको विश्लेषण गरिएको छ। संगठन निर्माणदेखि समाजका विभिन्न व्यक्तिलाई जोड्ने कार्यमा अन्सारी दक्ष मानिन्छन्। बाहिरबाट व्यक्ति भित्र्याएर नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनाएपछि सुरुदेखि नै असन्तुष्ट रहँदै आएका अन्सारीले अन्ततः कांग्रेस रोजेको उनी निकट व्यक्तिहरू बताउँछन्।
पूर्वमन्त्री प्रदीप यादवलाई नेकपा एमालेले पार्टी प्रवेश गराएको २४ घण्टा नबित्दै क्षेत्र नं. १ बाट उम्मेदवार बनाइएपछि एमालेभित्र ठूलो संख्यामा नेता–कार्यकर्ता असन्तुष्ट बनेको अन्सारीनिकट स्रोतको दाबी छ। अन्सारीको कांग्रेस प्रवेशले आगामी निर्वाचनमा पर्सा क्षेत्र नं. १ मा एमालेलाई दुई हजारभन्दा बढी मतको क्षति हुने र कांग्रेसलाई थप बलियो बनाउने आकलन गरिएको छ।
पार्टी प्रवेशपछि आमसभामा बोल्दै अन्सारीले देश र जनताको हितलाई केन्द्रमा राखेर निर्णय लिएको स्पष्ट पारे। उनले अब समावेशी, लोकतान्त्रिक र विकासमुखी राजनीतिक यात्रामा कांग्रेससँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। पर्सा क्षेत्रको समृद्धि, स्थायित्व र दिगो विकासका लागि आफ्नो अनुभव र ऊर्जा समर्पित गर्ने उनको भनाइ थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पर्सामा कांग्रेसको लहर तीव्र गतिमा बढिरहेको दाबी गरे। उनले देश परिवर्तनका लागि वैकल्पिक सोच, पारदर्शिता र इमानदार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै अन्सारीजस्ता अनुभवी नेताको आगमनले पार्टी थप सशक्त बनेको बताए।













