काठमाडौं-
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की ले प्रजातन्त्रको वास्तविक अनुभूति आम नागरिकको जीवनमा झल्किनुपर्ने बताएकी छन्। युवालाई बेवास्ता गरेर कुनै पनि राष्ट्र शान्त र स्थिर रहन नसक्ने स्पष्ट पार्दै उनले युवाले नातावाद, कृपावाद र भ्रष्टाचार सहन नसक्ने जिकिर गरिन्।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिकमञ्च टुँडीखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले प्रजातन्त्रको सार नागरिकको सुख, सुरक्षाबोध र निस्फिक्री जीवनमा देखिनुपर्ने धारणा राखिन्।
उनले भनिन्, “प्रजातन्त्रको वास्तविक झल्को अन्त कतै होइन, आम मानिसको अनुहारमा देखिने आनन्दित मुस्कान र उनीहरूको निस्फिक्री निद्रामा प्रकट हुनुपर्छ।”
युवाशक्तिको भूमिकामाथि जोड दिँदै उनले थपिन्, “युवालाई तिरस्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन। युवामा ऊर्जा, नैतिक चेतना र परिवर्तनको आकांक्षा हुन्छ। त्यो असन्तोष दबाएर होइन, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्छ।”
निष्पक्ष निर्वाचनका लागि सरकार प्रतिबद्ध
प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा केन्द्रित रहेको बताइन्।
उनका अनुसार उक्त निर्वाचनले मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वतर्फ लैजाने “नयाँ युगको ढोका” खोल्नेछ।
नेपालको निर्वाचन इतिहास स्मरण गर्दै उनले वि.सं. २०१५ साल फागुन ७ गतेदेखि सुरु भएको प्रजातान्त्रिक निर्वाचन प्रक्रियाको निरन्तरता कायम राख्दै आगामी निर्वाचन तोकिएकै मितिमा विश्वसनीय वातावरणमा सम्पन्न हुने सुनिश्चितता व्यक्त गरिन्।
निर्वाचनपछि गठन हुने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्दै उनले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धिका लागि सबैलाई एकताबद्ध हुन आग्रह गरिन्।
“लोकतन्त्र प्रक्रिया मात्र होइन, परिणाम पनि हो”
लोकतन्त्र केवल प्रक्रियामा सीमित नभई नागरिकलाई ठोस परिणाम दिनुपर्ने विषयमा उनले विशेष जोड दिइन्।
विधिको शासन कमजोर बनाउने ढिलासुस्ती, हैरानी र प्रशासनिक प्रताडनालाई लोकतान्त्रिक अभ्यास मान्न नसकिने बताउँदै उनले यस्ता बेथिति अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
भदौ २३ र २४ का घटनापछि गठन भएको सरकारले जेन–जी आन्दोलनको आवाजलाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले सुशासन, पारदर्शिता, समन्याय र जवाफदेहितालाई व्यवहारमा रूपान्तरण गर्ने प्रयास जारी रहेको जानकारी दिइन्।
साथै असामान्य अवस्थालाई सामान्य बनाउँदै शान्ति–सुव्यवस्था कायम गर्नु र छोटो समयमै निर्वाचनको वातावरण निर्माण गर्नु सरकारको प्राथमिक कार्यादेश रहेको उनको भनाइ थियो।
अन्त्यमा उनले आगामी निर्वाचनबाट आउने सरकार र संसद्ले लोकतन्त्रलाई थप सबल, उत्तरदायी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरिन्।














