वीरगन्ज-
प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल कुमार रुङ्गटा ले देश र मधेसको विकास तथा निकास नेपाली काँग्रेसबाट मात्र सम्भव हुने बताएका छन्। नयाँ जोश र ऊर्जा सहित चुनावी मैदानमा उत्रिएका उनले आज आफ्ना समर्थक तथा पार्टीका नेता–कार्यकर्तासँग मिलेर वीरगन्ज महानगरपालिका–८ गहवामा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातालाई रुख चिन्हमा मतदान गर्न आग्रह गरेका हुन्।
बुधबार मधेस प्रदेशको राजधानी जनकपुरमा नेपाली काँग्रेस ले आयोजना गरेको प्रतिबद्धता सभापछि थप उत्साहका साथ चुनावी अभियान अघि बढाएको रुङ्गटाले बताए। वडा नं। ८ का बुथ सभापति राजेन्द्र श्रेष्ठको अगुवाइमा सम्पन्न घरदैलो कार्यक्रममा उनले शान्ति, विकास र सामाजिक सद्भावलाई आफ्नो प्रमुख एजेन्डा बनाएको उल्लेख गरे।
सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले वीरगन्जमा कमजोर हुँदै गएको एकता, भाइचारा र सद्भावलाई बलियो बनाउने, स्वास्थ्य-शिक्षा तथा पूर्वाधार विकासलाई तीव्रता दिने र युवाका लागि रोजगारी सुनिश्चित गर्ने योजना रहेको स्पष्ट पारे। सुशासन र पारदर्शितालाई मूल मन्त्र बनाएर बारा–पर्सा औद्योगिक करिडोरमा लगानी भित्र्याउने तथा उद्योगमैत्री कानुन निर्माणमार्फत युवालाई सम्मानजनक रोजगारी सिर्जना गर्ने काँग्रेसको स्पष्ट नीति रहेको उनको भनाइ थियो।
रुङ्गटाले काँग्रेस सधैँ जनताको हितमा काम गर्ने पार्टी भएको उल्लेख गर्दै युवा नेता गगन थापा ले अघि सारेको ‘भिजन-१०’ ले वर्तमान समस्याको समाधानसँगै यथार्थमा आधारित भविष्यको मार्गचित्र प्रस्तुत गरेको बताए। त्यसैले आम मतदाता काँग्रेससँगै उभिनेमा आफू विश्वस्त रहेको उनले व्यक्त गरे।
घरदैलो कार्यक्रममा काँग्रेस पर्सा क्षेत्र नं। १ का क्षेत्रीय उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, भोला साह कलवार, सुरेन्द्र लामिछाने, दिलीपराज कार्की, रामनिवास यादवलगायत नेविसंघ र तरुण दलका नेता-कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।














