२०८२ फाल्गुन ७ गते, बिहीबार २०:४६

पाँच वर्ष टिक्ने सरकारको सुनिश्चितता गरौँ : विश्वप्रकाश शर्मा

काठमाडौं-

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले अब देशले जित्ने मात्र होइन, पूरा कार्यकाल टिक्ने प्रधानमन्त्रीको शासन प्रणालीबारे गम्भीर बहस सुरु गर्नुपर्ने बताएका छन्।

सुनसरी क्षेत्र नम्बर–१ का उम्मेदवार सुजेन्द्र तामाङको चुनावी प्रतिबद्धता घोषणा सभालाई सम्बोधन गर्दै उनले विगत सात दशकको राजनीतिक अनुभवले स्थिर सरकारको आवश्यकता स्पष्ट पारेको उल्लेख गरे। कार्यक्रम धरान स्थित भानु चोकमा बिहीबार आयोजित भएको थियो।

शर्माका अनुसार बितेका ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार पाँच वर्ष कार्यकाल पूरा गर्न नसक्नु राजनीतिक अस्थिरताको प्रमुख संकेत हो। त्यसैले आगामी निर्वाचनअघि नै पाँच वर्ष स्थिर सरकार सञ्चालन हुने गरी राष्ट्रिय सहमति निर्माण गर्न उनले व्यक्तिगत प्रस्तावसमेत अघि सारेका छन्।

उनले प्रत्यक्ष निर्वाचनमा पहिलो हुने दललाई स्पष्ट रूपमा पाँच वर्ष सरकार सञ्चालन गर्ने संवैधानिक सुनिश्चितता दिनुपर्ने धारणा राखे। बहुमत नपुगेको अवस्थामा ‘विनर्स टेक अल’ अवधारणाअनुसार आवश्यक संख्या सुनिश्चित गर्ने र दोस्रो–तेस्रो दलहरू पाँच वर्षसम्म प्रतिपक्षमै बस्ने व्यवस्थाबारे पनि सहमति गर्नुपर्ने उनको सुझाव छ।

सभामुख चयनपछि बस्ने संसद्को पहिलो बैठकबाट उक्त सहमतिलाई संविधानमै अंकित गर्न सके मुलुकले दीर्घकालीन राजनीतिक स्थिरता पाउने विश्वास उनले व्यक्त गरे।
उनले थपे, “काँग्रेस स्पष्ट बहुमतसहित स्थिर सरकार बनाउने लक्ष्यका साथ अघि बढिरहेको छ, र यही बाटोले देशलाई स्थायित्व र विकासतर्फ लैजान सक्छ।”

पोडकास्ट सुन्नुहोस