वीरगन्ज-
प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामनरेश यादव ले पूर्वमन्त्रीकै गाउँमा सडक, नाला, शिक्षा र सरसफाइजस्ता आधारभूत सुविधा अभावमा स्थानीय बासिन्दा कष्टकर जीवन बिताउन बाध्य भएको बताएका छन्।
आज वीरगन्ज महानगरपालिका १८ अन्तर्गत भवानीपुर र मनियारी क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै उनले मतदातासँग भेटघाट गरी जनता समाजवादी पार्टी नेपाल को चुनाव चिन्ह ‘छाता’मा मतदान गर्न आग्रह गरे।
स्थानीयसँगको संवादका क्रममा मनियारी गाउँमा तीन–तीन पटक संघीय मन्त्री भइसकेका व्यक्तिको बस्तीमै सडक, नाला र विद्यालय व्यवस्थापन कमजोर रहेको गुनासो व्यापक रूपमा आएको यादवले बताए। विद्यार्थीभन्दा शिक्षक संख्या बढी भए पनि पठनपाठन नियमित हुन नसकेको तथा महानगरपालिकाको अनुभूति नागरिकले गर्न नसकेको स्थानीयको भनाइ उनले उद्धृत गरे।
भवानीपुर क्षेत्रमा विद्यालय भवन पर्याप्त भए पनि शिक्षक अभाव रहेको, दलित बस्तीमा साँघुरो सडकका कारण आवत–जावतमा समस्या भएको र सरसफाइ अवस्था कमजोर रहेको विषय पनि स्थानीयले उठाएको यादवले जानकारी दिए। स्वास्थ्य चौकीको सेवा प्रवाह सामान्य रहे पनि औषधि वितरणमा समस्या देखिएको गुनासोसमेत आएको उनले बताए।
आफू विगतमा शिक्षक रहँदा जीर्ण विद्यालयलाई दातृ सहयोगमार्फत नमुना विद्यालयमा रूपान्तरण गरेको अनुभव सुनाउँदै उनले मन्त्री भइसकेका नेताको आफ्नै गाउँमा आधारभूत सेवा नहुनु दुःखद भएको टिप्पणी गरे।














