वीरगन्ज-
नेपाली काँग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुङ्गटा शनिबार वीरगन्ज महानगरपालिकाको वडा नं.१३ (ठूलो पिपरा) र वडा नं. २१ (ताजपुर) मा उत्साहजनक सहभागिताबीच घरदैलो अभियानमा सक्रिय देखिनुभएको छ।
स्थानीय भद्रभलादमी, पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको बाक्लो उपस्थितिमा उम्मेदवार रुङ्गटाले घरदैलोमा पुगेर नेपाली काँग्रेसको चुनाव चिन्ह रुख मा मतदान गर्न आममतदातालाई आग्रह गर्नुभयो। वडा नं. १३ मा बुथ सभापति विशेश्वर पटेलको अगुवाइमा ठूलो पिपरा क्षेत्रमा र वडा नंं .२१ मा बुथ सभापति रामनारायण साहको नेतृत्वमा ताजपुर क्षेत्रमा मतदातासँग प्रत्यक्ष भेटघाट गरिएको थियो।
घरदैलोका क्रममा उम्मेदवार रुङ्गटाले शान्ति, स्थायित्व र विकासका लागि नेपाली काँग्रेसलाई जिताउन आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले काँग्रेस सरकारमा पुगेपछि सुशासन, पारदर्शिता र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको मतले पार्टीलाई बलियो बनाउन अपिल गर्नुभयो।
मतदाताहरूले पनि उम्मेदवार रुङ्गटासँग प्रत्यक्ष भेट गरी समर्थन जनाउँदै मुलुकमा सुशासन कायम गर्नुपर्नेमा जोड दिएका छन्। स्थानीय तहमा सरकारी कार्यालयहरूको ढिलासुस्ती, घुसखोरी तथा सेवा प्रवाहमा देखिएको कमजोरीप्रति असन्तुष्टि व्यक्त गर्दै काँग्रेस नेतृत्वको सरकार आएपछि सेवा प्रणालीलाई छरितो, पारदर्शी र प्रभावकारी बनाउन आग्रह गरेका छन्।
शनिबारको घरदैलो कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति अजय कुमार द्विवेदी, उपसभापति रामनारायण कुर्मी, क्षेत्र नं। १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपाध्यक्ष अनिल सिंह, बसरुद्दीन अन्सारी, हविव मियाँ, जतन पटेल, मिन्टु सिंह, मनोज चौधरी, रामबाबु पटेल, संजय साह, श्याम पटेल, पुरुषोत्तम पटेललगायत नेता–कार्यकर्ता तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
घरदैलो अभियानमार्फत उम्मेदवार रुङ्गटाले जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी एजेन्डा स्पष्ट पारेका छन्, जसले निर्वाचन क्षेत्रमा काँग्रेसको पक्षमा माहोल तातिएको देखिन्छ।














