काठमाडौ –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि तीव्र आक्रमण गर्दै चुनाव जित्न नसक्ने अवस्था देखिएपछि अराजक गतिविधिमा उत्रिएको आरोप लगाएका छन्।
शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले रास्वपाले चुनावी प्रतिस्पर्धामा आफू कमजोर रहेको निष्कर्ष निकालिसकेको र त्यसपछि जानाजानी तनाव सिर्जना गर्ने, अभद्र तथा अशोभनीय व्यवहार प्रदर्शन गर्ने काम सुरु गरेको दाबी गरे।
“मलाई के लाग्छ भने, रास्वपाले चुनाव जितिन्न भन्ने निष्कर्ष निकालिसकेको छ। त्यसैले झण्डा जलाउने, अमर्यादित व्यवहार देखाउने, समाजमा अनावश्यक तनाव बढाउने गतिविधि देखिन थालेका छन्,” ओलीले भने।
ओलीले रास्वपाको प्रवृत्ति लोकतान्त्रिक अभ्यासविपरीत रहेको आरोप लगाउँदै भने, “आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव लड्ने, नआउने देखेपछि चुनावै भाँड्ने मानसिकता देखिन थालेको छ।”
उनले रास्वपा चुनावी प्रक्रियालाई अवरोध गर्ने दिशातर्फ उन्मुख भएको संकेत गर्दै यसप्रति सबै राजनीतिक दल र नागरिक सचेत रहनुपर्ने बताए। ओलीको यो अभिव्यक्तिले चुनावी माहोल थप तातिने संकेत गरेको छ।
एमाले अध्यक्ष ओलीको उक्त टिप्पणीपछि आगामी निर्वाचनमा प्रमुख दलहरूबीच आरोप–प्रत्यारोपको राजनीति झनै चर्किने देखिएको छ।













