वीरगन्ज-
वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ का अगुवा बुद्धिजीवी र भद्र-भलादमीहरूको एक समूहले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न ‘घण्टी’ मा मतदान गर्ने भद्र सहमति गरेका छन्। हिजो अबेर राति स्थानीय शिव मन्दिरको प्राङ्गणमा बसेको बुद्धिजीवीहरूको विशेष भेलाले यस्तो निर्णय गरेको हो।
विभिन्न राजनीतिक दलहरूमा आबद्ध रहे पनि मुलुकको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै यस पटक ‘पार्टीभन्दा माथि उठेर’ मतदान गर्ने निष्कर्षमा उनीहरू पुगेका हुन्। भेलामा सहभागी एक बुद्धिजीवीका अनुसार विगत साढे तीन दशकदेखि देशमा व्याप्त कुशासन, भ्रष्टाचार र बेथिति अन्त्यका लागि नेतृत्व परिवर्तन अनिवार्य देखिएकाले रास्वपालाई रोजिएको हो।
सहभागीहरूले तत्कालै रास्वपामा प्रवेश नगरे पनि मत भने घण्टीलाई नै दिने प्रतिबद्धता जनाएका छन्। “मुलुक अहिले परिवर्तनको संघारमा छ, यस्तो बेला हामीले व्यक्तिगत वा पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको भविष्यका लागि निर्णय लिनुपर्छ भन्ने हाम्रो ठहर हो,” सहभागी एक अगुवाले भने।
बुद्धिजीवीहरूको यो सामूहिक र ‘मौन’ समर्थनले पर्सा क्षेत्र नम्बर १ को चुनावी माहौलमा नयाँ तरंग पैदा गरेको छ। सामाजिक र व्यावसायिक क्षेत्रमा प्रभाव राख्ने व्यक्तित्वहरूको यो निर्णयले रास्वपाको संगठनात्मक उपस्थितिलाई मात्र नभई जनसमर्थनको आधारलाई पनि व्यापक बनाउने संकेत देखिएको छ।
यसैबीच, रास्वपा पर्साका सभापति एवं पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तले बुद्धिजीवीहरूको यो समर्थनले आफूलाई निकै उत्साहित बनाएको बताउनुभएको छ। आज आयोजित एक कार्यक्रममा बोल्दै पन्तले भन्नुभयो, “फरक विचार र सिद्धान्त बोकेका व्यक्तित्वहरूले परिवर्तनका लागि देखाउनुभएको यो ऐक्यबद्धताले समग्र क्षेत्रको राजनीतिक समीकरण नै बदल्ने पक्का छ।”
उनले जनताले अब पुरानो शैलीको राजनीति नभई इमानदार नेतृत्व र जवाफदेही शासन खोजेको दाबी गर्दै परिवर्तनको आवाज अब घर-घरमा पुग्ने विश्वास व्यक्त गरे। स्थानीय स्तरमा प्रभाव राख्ने व्यक्तित्वहरूको यो ‘भद्र सहमति’ पछि विपक्षी दलहरूमा समेत दबाब बढ्ने विश्लेषण गरिएको छ।













