“जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” रुङ्गटा
वीरगन्ज ९फागुन । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल कुमार रुङ्गटाको पक्षमा समर्थनको लहर तीव्र बन्दै गएको छ । वीरगन्ज महानगरपालिको वडा नं.१५ भिष्वा र वडा नं. १६ नगवाका २५० जना युवा तथा महिलाले टीका र गम्छा ग्रहण गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रम उत्साहपूर्ण माहोलमा सम्पन्न भएको थियो, जहाँ विशेषगरी नगवाका जेन–जी युवाहरुले रुङ्गटालाई भविष्यको आशा र भरोसाका रूपमा प्रस्तुत गर्दै स्पष्ट शब्दमा समर्थन जनाए । “हाम्रो आशा र विश्वास तपाईंमै छ, युवाको भविष्य सुरक्षित र समृद्ध बनाउन नेतृत्व लिनुहोस्,” उनीहरूले सामूहिक रूपमा आग्रह गरे ।
भिष्वाका महिला तथा युवाहरूले पनि विकास, रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठोस पहलको अपेक्षा राख्दै रुङ्गटाको उम्मेदवारीलाई मजबुत साथ दिने प्रतिबद्धता व्यक्त गरे । उनीहरूले पूर्वाधार विस्तार, सीपमूलक तालिम, स्वरोजगार प्रवद्र्धन, गुणस्तरीय शिक्षाको पहुँच तथा आधारभूत स्वास्थ्य सेवामा सुधार अपरिहार्य भएको उल्लेख गर्दै सक्षम र जवाफदेही नेतृत्वको आवश्यकता औंल्याए ।
उक्त अवसरमा उम्मेदवार रुङ्गटाले नवप्रवेशीहरूलाई धन्यवाद दिँदै पर्सा क्षेत्र नं. १ को सन्तुलित र समग्र विकास आफ्नो प्रमुख प्राथमिकता रहने स्पष्ट पारे । उनले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्ने, सीप विकास तथा नवरिर्वतनलाई प्रोत्साहन गर्ने तथा महिलाको आर्थिक सामाजिक सशक्तीकरणका लागि विशेष कार्यक्रम अघि बढाउने प्रतिबद्धता दोहो¥याए ।
रुङ्गटाले शिक्षा क्षेत्रमा गुणस्तर सुधार, सामुदायिक विद्यालयको सुदृढीकरण, स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन, कृषि तथा साना उद्योगलाई प्रवद्र्धन र सडक, ढल–नाला लगायतका पूर्वाधार विस्तारमा तीव्रता दिने योजनाबद्ध तयारी रहेको पनि जानकारी दिए।
“जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” रुङटाले भने, “पारदर्शी, जिम्मेवार र परिणाममुखी नेतृत्व प्रदान गर्दै पर्सा क्षेत्र नं. १ लाई विकास र समृद्धिको नमुना क्षेत्र बनाउने दृढ संकल्पका साथ अघि बढ्नेछु ।”













