२०८२ फाल्गुन १० गते, आईतवार २२:०३

पर्सा–१ मा रास्वपाको बढ्दो प्रभाव: पूर्व माओवादीका पदाधिकारीहरू ‘घण्टी’ मा प्रवेश, नगवामा पन्तको भव्य घरदैलो

वीरगन्ज-

मुलुकमा फैलिँदै गएको परिवर्तनको बहस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिको जनआकर्षणले पर्सा क्षेत्र नम्बर १ को चुनावी समीकरणलाई रोचक मोडमा पुर्‍याएको छ। शनिबार वीरगन्जका विभिन्न स्थानमा भएका गतिविधिले रास्वपाको संगठनात्मक आधार बलियो बन्दै गएको संकेत दिएको छ।

वीरगन्ज महानगरपालिका–२३ मा आयोजित एक विशेष कार्यक्रमका बीच नेकपा (माओवादी केन्द्र) का आधा दर्जन स्थानीय पदाधिकारीहरू रास्वपामा प्रवेश गरेका छन्। माओवादी केन्द्रका इकाइ सदस्य जितेन्द्र महतो, सह–सचिव चन्दन पासवान, र नगर सदस्य सुनिल कुमार ततवा लगायतका नेताहरूले पुरानो राजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाउँदै वैकल्पिक शक्तिलाई सघाउने घोषणा गरेका हुन्। नवप्रवेशी नेताहरूले देशको निकासका लागि रास्वपाको एजेन्डा आवश्यक रहेको उल्लेख गरे।

यसैबीच, पर्सा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं रास्वपा पर्सा सभापति हरि पन्तले आफ्नो चुनावी अभियानलाई तीव्र पारेका छन्। शनिबार नगवामा पार्टी कार्यालयको उद्घाटनसँगै आयोजित घरदैलो कार्यक्रममा जनसहभागिता उल्लेख्य देखिएको थियो।

टोल–टोलमा पुगेका पन्तलाई स्थानीय बासिन्दाले फूलमाला र गम्छा ओढाएर स्वागत गरेका थिए। विशेषगरी युवाहरूको सक्रियता लोभलाग्दो देखिएको थियो। समर्थकहरूले सभापति रवि लामिछाने, बालेन शाह र हरि पन्तको तस्बिर अंकित सामग्रीसहित “जय घण्टी” र “अबकी बार, वैकल्पिक सरकार” भन्दै नाराबाजी गरेका थिए।

मतदातासँगको प्रत्यक्ष संवादमा पन्तले राजनीतिलाई सत्ता प्राप्तिको माध्यम नभई सेवाको रूपमा व्याख्या गरे। उनले भने, “विगतका दलहरूले जनतालाई केवल आश्वासन दिए, अब हामी परिणाममुखी काम र भ्रष्टाचारमुक्त शासनको एजेन्डा लिएर आएका छौँ।” पन्तले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, पूर्वाधार विकास र गुणस्तरीय शिक्षा–स्वास्थ्यलाई आफ्नो प्राथमिकतामा राखेका छन्।

घरदैलोका क्रममा स्थानीयले बेरोजगारी र जीर्ण सडकका बारेमा गुनासो राखेका थिए। पन्तले ती समस्याको समाधानका लागि केन्द्र सरकारसँग प्रत्यक्ष समन्वय गरी पर्सा–१ लाई विकासको नमुना क्षेत्र बनाउने प्रतिबद्धता जनाए।

निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सामा विभिन्न दलका उम्मेदवारहरू सक्रिय भए पनि रास्वपाले पाएको यो ‘मौन समर्थन’ र ‘पार्टी प्रवेश’ को लहरले पुराना राजनीतिक दलहरूलाई ठूलो चुनौती दिएको छ।

पोडकास्ट सुन्नुहोस