वीरगन्ज-
नेता, कार्यकर्ता तथा समर्थकहरूको ठूलो लावालस्करसहित नेपाली काँग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल रुङ्गटाले आज चोरनीका मतदातासँग मत माग्दै घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
वीरगन्ज महानगरपालिका वडा नं. ३२ चोरनीका घरआँगनमा पुगेका उम्मेदवार रुङ्गटाले नेपाली काँग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न आग्रह गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका लागि रुख छापमा मतदान गर्न आम मतदातालाई अपिल गर्नुभयो।
उहाँले मुलुकलाई निकास र जनतालाई विकास दिन काँग्रेस नेतृत्वको सरकार आवश्यक रहेको उल्लेख गर्दै रुख छापमा मतदान गर्न सबैसँग आग्रह गर्नुभयो।
मत माग्न चोरनी पुगेका उम्मेदवार रुङ्गटालाई स्थानीयवासीले फूलमाला र अबिरको टीका लगाएर भव्य स्वागत गरेका थिए। साथै स्थानीयहरूले रुख छापमा मतदान गर्ने आश्वासन दिएका छन्।
यस अवसरमा स्थानीयवासीहरूले विगतमा दुई–दुई पटक जितेका उम्मेदवारहरू चुनावपछि चोरनीमा नआएको गुनासो गर्दै सडक र नालाको अभावका कारण आफूहरू समस्यामा परेको जानकारी गराएका थिए। महानगरपालिकाभित्र पर्दा पनि सडक, नाला र स्वास्थ्य सेवामा ठूलो समस्या रहेको भन्दै स्थानीयहरूले विभेद भएको आरोपसमेत लगाएका छन्।
नेपाली काँग्रेस वडा नं. ३२ का बुथ सभापति हाफिजुल रहमानको अगुवाइमा सम्पन्न घरदैलो कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाली काँग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदी, उपसभापति सारमनारायण कुर्मी, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अविल सिंह, महाधिवेशन प्रतिनिधि प्रकाश श्रेष्ठलगायत स्थानीय भद्रभलाद्मी तथा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।













