२०८२ फाल्गुन ११ गते, सोमबार १८:०४

जनता समाजवादी पार्टी (जसपा) नेपाल को हरपतगंज र अपौनिमा घरदैलो अभियान

मतदाताको भनाइ : पहिचान र अधिकार दिलाउने जसपालाई मतदान गर्ने

वीरगन्ज-

प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) नेपाल ले पर्सा क्षेत्र नं. १ मा चुनावी प्रचारलाई तीव्रता दिएको छ। मतदान हुन १० दिन बाँकी रहँदा जसपाले प्रचार अभियानलाई गति दिँदै मतदाताको घरदैलोमा पुगेर पार्टीको चुनाव चिन्ह ‘छाता’ मा मतदान गर्न आग्रह गरिरहेको छ।

यसै क्रममा पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामनरेश यादवले सोमबार वीरगन्ज महानगरपालिका वडा नं. २० हरपतगंजमा घरदैलो कार्यक्रम गर्दै मतदातासँग मत माग्नुभयो।

मतदाताको घरमै पुगेका उम्मेदवार यादवले मधेसीको पहिचान र संघीयतालाई सुदृढ बनाउने जसपा नेपालको चुनाव चिन्ह ‘छाता’ मा मतदान गर्न अपिल गर्नुभयो। उहाँले मधेस आन्दोलनले उठाएका मागमध्ये केही मात्र पूरा भएको उल्लेख गर्दै बाँकी रहेका मुद्दा सम्बोधन गर्न जसपा नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभयो। ती कार्यभार पूरा गर्न छाता छापमा मतदान गर्न आम मतदातासँग आग्रह गर्नुभयो।

घरदैलोका क्रममा हरपतगंज र अपौनिका मतदाताले पहिचान र अधिकार सुनिश्चित गर्न जसपा नेपालको चुनाव चिन्हमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जसपा नेपालले आयोजना गरेको घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, सुरेन्द्र कुर्मी, फिरोज मंसुर, करिमा बेगम, वीरगन्ज महानगरपालिकाका नगर अध्यक्ष घनश्याम गुप्ता, प्रदेश समिति सदस्य महाराज यादव, नेताहरू मुस्तकिम अन्सारी, सैयद अली, जलालुदिन अन्सारीलगायत स्थानीय भद्रभलादमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

पोडकास्ट सुन्नुहोस