२०८२ फाल्गुन ११ गते, सोमबार १८:०४

पर्सा प्रशासनको कर्फ्यु आदेशले वीरगन्जवासीमा भ्रम र त्रास

वीरगन्ज-

जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान जारी गरेको कर्फ्यु आदेशले वीरगन्ज महानगरपालिकाका बासिन्दाबीच भ्रम र त्रास दुवै सिर्जना गरेको छ।

वीरगन्जको श्रीपुर क्षेत्रमा गएराति भएको दुई पक्षबीचको झडपलाई आधार बनाउँदै स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो। तर नगर क्षेत्रमा सामान्य आवतजावत भइरहेको अवस्थाले नागरिकहरू अन्योलमा परेका छन् भने अनिश्चितकालीन कर्फ्युको घोषणाले त्रासको वातावरणसमेत उत्पन्न गरेको छ।

स्थानीय प्रशासन सञ्चालन ऐन, २०२८ को दफा ६(क) अनुसार वीरगन्जको पूर्वमा बाइपास सडक, पश्चिममा सिर्सिया खोला, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

कर्फ्यु क्षेत्रभित्र अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी, कूटनीतिक नियोग तथा विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षार्थी बोकेका सवारीसाधन बाहेक अन्य सवारीसाधनको आवतजावत निषेध गरिएको छ। साथै भेला, जुलुस, प्रदर्शन, बैठक र घेराउ गर्नसमेत रोक लगाइएको छ।

यद्यपि वीरगन्ज बजार क्षेत्र खुला देखिनु र निजी सवारीसाधनको सहज आवतजावत भइरहनुले नागरिकमा थप भ्रम सिर्जना गरेको छ। वीरगन्जमा कर्फ्यु लागेको खबर बाहिरी सहरमा रहेका वीरगन्जवासी तथा उनीहरूका आफन्तमा समेत चिन्ता बढाएको छ।

प्रतिनिधि सभा निर्वाचन हुन १० दिन मात्र बाँकी रहेको अवस्थामा एक टोलमा भएको दुई समूहबीचको झगडालाई लिएर पुरै सहरमा कर्फ्यु आदेश जारी गरिएको विषयलाई केही स्थानीयले अर्थपूर्ण रूपमा लिएका छन्। स्थानीय प्रशासनको दायित्व शान्तिपूर्ण र सहज वातावरणमा निर्वाचन सम्पन्न गराउनु भए पनि कर्फ्यु आदेशले सो वातावरण प्रभावित भएको केही नेताहरूको आरोप छ।

श्रीपुरको घटनाक्रम जारी रहँदै गर्दा अचानक कर्फ्यु आदेश जारी गर्नुको कारण स्पष्ट नभएको भन्दै केही राजनीतिक दलका नेताहरूले प्रशासनको निर्णयमाथि प्रश्न उठाएका छन्।

पोडकास्ट सुन्नुहोस