वीरगन्ज-
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पर्सामा नेपाली काँग्रेसका नेताहरू एकढिक्का भएर चुनावी अभियानमा जुटेका छन्। विगतका निर्वाचनमा गुट–उपगुटका कारण भएको क्षतिबाट पाठ सिक्दै यसपटक सबै नेता एकै ठाउँमा उभिएको देखिएको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन पार्टीभित्र उल्लेख्य एकता देखिएको नेताहरूले बताएका छन्। विशेषगरी पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल कुमार रुङ्गटाको पक्षमा नेताहरू खुला रूपमा मैदानमा उत्रिएका छन्।
यसैक्रममा मंगलबार वीरगन्ज महानगरपालिका वडा नं. १२ मुर्लीमा आयोजित घरदैलो कार्यक्रममा काँग्रेसका प्रभावशाली नेता राजेन्द्रबहादुर अमात्य सक्रिय रूपमा सहभागी भएका थिए। क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ताका अनुसार, विपक्षी दलले फैलाएको भ्रम चिर्न र उम्मेदवार रुङ्गटाको पक्षमा जनसमर्थन बढाउन अमात्य स्वयं घरदैलोमा उत्रिएका हुन्।
गुप्ताले अहिले पर्सामा काँग्रेस पूर्ण रूपमा एकढिक्का रहेको दाबी गर्दै यसले कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह थपेको बताए। उनले उम्मेदवार रुङ्गटा इमानदार, जनताप्रति जिम्मेवार तथा समाजमा सम्मानित व्यक्तित्व भएकाले आम मतदाताको विश्वास प्राप्त गरिरहेको उल्लेख गरे।
उनका अनुसार, पार्टीका सबै नेता एउटै लक्ष्यसहित अघि बढ्दा कार्यकर्तामा समेत उत्साह बढेको छ र यसले आम मतदातालाई काँग्रेसप्रति आकर्षित गरेको छ। विगतमा काँग्रेस एकढिक्का हुँदा चारै क्षेत्र जितेको इतिहास स्मरण गर्दै यसपटक पनि त्यही परिणाम दोहोरिने विश्वास व्यक्त गरिएको छ।
घरदैलो कार्यक्रममा पूर्व संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका पूर्व पर्सा जिल्ला सभापति राजेन्द्रबहादुर अमात्य, अजय कुमार द्विवेदी, सभापति रामनारायण कुर्मी, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, भोला साह कलवार, महानगर सभापति मणिन्द्रलाल नेपाली, महाधिवेशन प्रतिनिधि, विभिन्न बूथका सभापतिलगायत नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
पर्सामा देखिएको यो एकताले आगामी निर्वाचनमा काँग्रेसलाई थप बलियो बनाउने नेताहरूको विश्वास छ।














