वीरगन्ज-
पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेको चुनावी माहोलले अहिले नयाँ उचाइ लिएको छ। “विकास र परिवर्तनका लागि महिला नेतृत्व” भन्ने नाराका साथ मैदानमा उत्रिएकी उम्मेदवार रिमा यादवको पक्षमा वीरगन्ज महानगरपालिकाका वडा नम्बर ९ र १० मा अभूतपूर्व उत्साह देखिएको छ। सोमबार ती वडामा आयोजित घरदैलो कार्यक्रम केवल भेटघाटमा सीमित रहेन, यसले एउटा सशक्त चुनावी सन्देश दिएको छ।
घरदैलोका क्रममा टोल-टोलमा पुग्दा रिमा यादवलाई स्वागत गर्न सयौँको संख्यामा स्थानीय बासिन्दाहरू सडकमा ओर्लिएका थिए। विशेषगरी महिला र युवाहरूको जोसिलो सहभागिताले पर्सा-२ मा एमालेको पकड बलियो रहेको संकेत गरेको छ। उम्मेदवार यादवलाई स्थानीयले फूलमाला र खादाले मात्र होइन, “अबको नेतृत्व–रिमा यादव” भन्दै उत्साहजनक नाराबाजीका साथ स्वागत गरेका थिए।
मतदातासँग प्रत्यक्ष सम्वाद गर्दै उम्मेदवार यादवले भन्नुभयो- “अहिलेसम्म धेरैलाई हेर्नुभयो, अब काम गर्नेलाई रोज्नुहोस्। वीरगञ्जको धुलो, ढल र खानेपानीको समस्या सुल्झाउन अब महिलाले नेतृत्व लिनैपर्छ। मलाई सूर्य चिन्हमा मतदान गर्नुहोस्, म तपाईंको विश्वासलाई विकासमा बदल्नेछु।”
घरदैलो कार्यक्रममा एमालेका प्रभावशाली नेताहरू प्रभु हजरा, पूर्वमेयर विजय सरावगी, बिचारी यादव, मनोज कुशवाहा, अजय गुप्ता र अंगद गुप्ता लगायतको उपस्थितिले रिमाको चुनावी अभियानलाई थप मजबुत बनाएको छ। नेता सरावगीले वीरगन्जको अधुरो विकासको सपना पूरा गर्न रिमा यादवलाई संसदमा पठाउनुको विकल्प नभएको दाबी गर्नुभयो।
स्थानीयले सडक स्तरोन्नति, ढल निकास र स्वास्थ्य सेवामा देखिएको बेथिति अन्त्य गर्न आग्रह गरेका थिए। यादवले ती मागहरूलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएको र निर्वाचित भएको पहिलो दिनदेखि नै काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।













