२०८२ फाल्गुन १३ गते, बुधबार ०८:३४

मधेसमा ‘प्रधानमन्त्री’को कार्ड: गगन र बालेनको इन्ट्रीले संकटमा मधेस केन्द्रित दल, उपेन्द्र र राजेन्द्र ओझेलमा

पर्सा-

आगामी फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा मधेस प्रदेशको राजनीतिको ‘इपिसेन्टर’ बदलिएको छ। विगतका निर्वाचनमा क्षेत्रीय एजेन्डा र मधेस केन्द्रित दलहरूको दबदबा रहने तराईमा यसपटक ‘भावी प्रधानमन्त्री’को कार्डले नयाँ मोड ल्याएको छ।

नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएपछि मधेसको चुनावी माहोल निकै तातेको छ।

बालेनको ‘मधेस कार्ड’ र गगनको ‘नयाँ पुस्ता’

रास्वपाले बालेन शाहलाई ‘मधेसको छोरो’ र ‘मधेसी मूलको पहिलो प्रधानमन्त्री’ भनेर व्यापक प्रचार गरिरहेको छ। यसले मधेसी युवाहरूमा एउटा नयाँ तरङ्ग पैदा गरेको छ। उता, कांग्रेसले गगन थापालाई नयाँ पुस्ताको रूपान्तरणकारी नेताका रूपमा अघि सारेको छ। स्वयं गगन थापा सर्लाही–४ बाट उम्मेदवार बनेर मधेस झरेपछि कांग्रेसको परम्परागत जनमतमा उत्साह थपिएको छ।

ओझेलमा परम्परागत मधेसी नेतृत्व

२०६४ पछि मधेसको राजनीतिमा हाबी भएका उपेन्द्र यादव र राजेन्द्र महतो जस्ता नेताहरू यसपटक रक्षात्मक अवस्थामा देखिएका छन्। गुटगत राजनीति, बारम्बारको टुटफुट र सत्ता केन्द्रित राजनीतिका कारण उनीहरूमाथि ‘मधेसका मुद्दालाई राष्ट्रिय एजेन्डा बनाउन नसकेको’ आरोप लाग्ने गरेको छ।

विश्लेषक नविन झाका अनुसार, उपेन्द्र यादव नेतृत्वको जसपाले केही सिट जोगाउन सक्ने देखिए पनि अन्य मधेस केन्द्रित दलहरूको अवस्था निकै कमजोर छ। मधेसका ३२ निर्वाचन क्षेत्रमा अहिले कांग्रेस, रास्वपा र एमालेबीच नै मुख्य त्रिकोणात्मक भिडन्त हुने संकेत देखिएको छ।

सिके राउत र प्रभु साहलाई आफ्नैबाट चुनौती

अघिल्लो चुनावमा सनसनीपूर्ण जित निकालेका जनमत पार्टीका अध्यक्ष सिके राउतलाई यसपटक आफ्नै पूर्वसहकर्मीबाट चुनौती थपिएको छ। जनमतकै समर्थनमा मुख्यमन्त्री बनेका सतिश सिंह अहिले स्वाभिमान पार्टीबाट राउतविरुद्ध सप्तरी–२ मा उत्रिएका छन्। यसले राउतको जितमा ‘ब्रेक’ लाग्न सक्ने अनुमान गरिएको छ। यस्तै, रौतहट–२ मा आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई पनि कांग्रेस र जसपाले कडा घेराबन्दी गरेका छन्।

दाबी र वास्तविकता

जसपा नेपालका प्रवक्ता मनिष सुमन भने आफ्नो दल मधेसमा अझै पनि सबैभन्दा ठूलो शक्ति बन्ने र १५ सिटसम्म जित्ने दाबी गर्छन्। उता, राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झा रास्वपाको इन्ट्रीले समीकरण जटिल बनाएको स्वीकार गर्छन्।

कांग्रेस नेता महेन्द्र यादव मधेसबाट कांग्रेसलाई पहिलो दल बनाउने दाबी गर्छन् भने रास्वपाले ‘बालेन कार्ड’ मार्फत मधेसको मत ‘स्वीप’ गर्ने आशा राखेको छ।

मधेसका मतदाता यतिबेला परम्परागत क्षेत्रीय दल रोज्ने कि ‘राष्ट्रिय प्रधानमन्त्री’ दिने नयाँ शक्ति रोज्ने भन्ने अन्योलमा छन्। ठूला दलहरूको आक्रामक प्रचार र ‘सेलेब्रिटी’ उम्मेदवारको प्रभावले मधेस केन्द्रित दलहरूको अस्तित्व यसपटक निकै जोखिममा परेको देखिन्छ।

पोडकास्ट सुन्नुहोस