वीरगन्ज-
जिल्ला प्रशासन कार्यालय पर्साले आगामी फागुन १५ गतेदेखि मदिरा बिक्री-वितरणमा रोक लगाउने निर्णय गरेपछि पर्साका मदिरा व्यवसायीहरूले गम्भीर आपत्ति जनाएका छन्। पर्सा मदिरा व्यवसायी संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रशासनको यो निर्णयले व्यवसायीहरूलाई मर्माहत र आर्थिक संकटमा पारेको बताएको छ।
वर्षमा एकपटक आउने होली पर्वको समयमा ठूलो कारोबार हुने अपेक्षाका साथ व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सामान स्टक राखेको अवस्थामा प्रशासनले अचानक बन्दको सूचना जारी गर्दा ठूलो क्षति हुने संघले जनाएको छ। “होली आउनुभन्दा एक हप्ता अगाडि नै व्यवसाय ठप्प पार्नु न्यायोचित छैन,” संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
राज्यलाई सबैभन्दा बढी राजस्व (Tax) बुझाउने क्षेत्रमध्ये मदिरा व्यवसाय पनि एक रहेको स्मरण गराउँदै संघले भनेको छ-“व्यवसाय नै बन्द भएपछि बैंकको किस्ता, घरभाडा र राज्यलाई तिर्नुपर्ने कर कहाँबाट ल्याउने? यसको जिम्मेवारी कसले लिने?” देशको वर्तमान आर्थिक अवस्थाले पहिले नै थलिएको व्यवसायलाई यो निर्णयले थप धरासायी बनाउने व्यवसायीहरूको दाबी छ।
पर्सा मदिरा व्यवसायी संघले प्रशासनको यो निर्णयप्रति गम्भीर असहमति प्रकट गर्दै तत्काल पुनर्विचार गर्न र व्यवसायीहरूको लगानी सुरक्षाको प्रत्याभूति गर्न माग गरेको छ। उपयुक्त निकास नखोजिए व्यवसायीहरू आफ्नो हक-अधिकारका लागि एकताबद्ध भएर उभिने चेतावनी समेत दिइएको छ।
प्रशासनले भने निर्वाचन वा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हुनसक्ने अनुमान गरिए पनि व्यवसायीहरूले भने लामो समयको प्रतिबन्धले स्वरोजगार र अर्थतन्त्रमा नकारात्मक असर पुग्ने बताएका छन्।













