इस्लामाबाद –
पाकिस्तानले शुक्रबार अफगानिस्तानका राजधानी काबुलसहित प्रमुख सहरहरूमा बमबारी गरेको छ। इस्लामाबादका रक्षा मन्त्रीले महिनौँदेखि जारी प्रतिउत्तरात्मक झडपपछि दुवै देशबीच अब “खुला युद्ध” सुरु भएको घोषणा गरेका छन्।
एएफपीका पत्रकारहरूले काबुल र कान्दहारमा विस्फोटको आवाज र आकाशमा लडाकु विमानहरू उडेको सुनेका छन्। पाकिस्तानले अफगान राजधानी काबुल तथा तालिबान प्रशासनको दक्षिणी शक्ति केन्द्र कान्दहारमा हवाई आक्रमण गरेको जनाएको छ।
पाकिस्तानको पछिल्लो सैन्य कारबाही अफगान फौजले बिहीबार राति पाकिस्तानी सीमा सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि भएको हो। उक्त आक्रमण इस्लामाबादद्वारा यसअघि गरिएको हवाई हमलाको प्रतिकारस्वरूप भएको बताइएको छ।
दुवै छिमेकी राष्ट्रबीच सम्बन्ध पछिल्ला महिनाहरूमा अत्यन्त तनावपूर्ण बनेको छ। अक्टोबरमा भएको घातक झडपमा दुवैतर्फ गरी ७० भन्दा बढीको मृत्यु भएपछि स्थलसीमा नाका प्रायः बन्द छन्।
इस्लामाबादले पाकिस्तानभित्र आक्रमण गर्ने उग्रवादी समूहहरूविरुद्ध कारबाही गर्न अफगानिस्तान असफल भएको आरोप लगाउँदै आएको छ, जसलाई तालिबान सरकारले अस्वीकार गर्दै आएको छ।
कतार र टर्कीको मध्यस्थतामा प्रारम्भिक युद्धविराम भएपछि वार्ताका केही चरण भए पनि स्थायी सहमति हुन सकेको छैन।
हालैको सीमा हिंसामा दुवै सेनाले दर्जनौँ सैनिक मारिएको दाबी गरेका छन्। पछिल्ला महिनाहरूमा पाकिस्तानले अफगानिस्तानमाथि पटक–पटक आक्रमण गर्दै आएको थियो।
पाकिस्तानी सूचना मन्त्री अताउल्लाह तारारले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “काबुल, पक्तिया र कान्दहारमा अफगान तालिबानका रक्षा लक्ष्यहरूलाई निशाना बनाइएको छ।” रक्षा मन्त्री ख्वाजा आसिफले तालिबान सरकारसँग “पूर्ण युद्ध” सुरु भएको घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हाम्रो धैर्यको सीमा समाप्त भएको छ। अब हामी र तिमीहरूबीच खुला युद्ध हो।”
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आफ्नो देशको सशस्त्र बल “कुनै पनि आक्रामक महत्वाकांक्षा चकनाचूर पार्ने पूर्ण क्षमता” राख्ने बताएका छन्।
काबुलमा विमानको गर्जन
अफगान राजधानी काबुलमा एएफपीका पत्रकारहरूले केही घण्टासम्म आकाशमा लडाकु विमान र लगातार विस्फोटका आवाज सुने, त्यसपछि गोलीबारीसमेत भएको जनाइएको छ।
तालिबान सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा बस्ने कान्दहारमा पनि विमान उडेको आवाज सुनिएको एक एएफपी पत्रकारले बताएका छन्।
तालिबान सरकारले पाकिस्तानी हवाई आक्रमणको पुष्टि गर्दै प्रवक्ता जबीहुल्लाह मुजाहिदले कुनै मानवीय क्षति नभएको दाबी गरेका छन्।
यसअघि मुजाहिदले “पाकिस्तानी सेनाद्वारा बारम्बार गरिएको उल्लङ्घनको प्रत्युत्तरमा” सीमामा “वृहद् आक्रामक कारबाही” सुरु गरिएको बताएका थिए।
अफगान रक्षा मन्त्रालयले स्थल आक्रमणमा आफ्ना आठ सैनिक मारिएको जनाएको छ।
नान्गरहार प्रान्तका सूचना प्रमुख कुरैशी बद्लुनका अनुसार टोरखाम सीमा नजिक पाकिस्तानबाट फर्किएकाहरूको शिविरमा मोर्टार गोला खस्दा सात शरणार्थी घाइते भएका छन्, जसमध्ये एक महिलाको अवस्था गम्भीर छ।
अक्टोबरयता सीमा नाका अधिकांश बन्द भए पनि अफगान फर्कने नागरिकलाई प्रवेश अनुमति दिइँदै आएको छ।
महिनौँदेखि सीमा हिंसा
तालिबान प्रवक्ता मुजाहिदले एएफपीसँग केही पाकिस्तानी सैनिक “जिउँदै पक्राउ परेको” दाबी गरेका छन्, तर इस्लामाबादस्थित प्रधानमन्त्री कार्यालयले यसलाई अस्वीकार गरेको छ।
पाकिस्तानले आइतबार राति नान्गरहार र पक्तिका प्रान्तमा गरेको आक्रमणमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय मिसनले जनाएको छ।
मंगलबार पनि दुवैतर्फबाट सीमा क्षेत्रमा गोली हानाहान भएको थियो, तर कुनै हताहत भएको थिएन।
हालका महिनाहरूमा पाकिस्तान र अफगानिस्तानमा घातक आत्मघाती विस्फोटहरूको शृंखला देखिएको छ। इस्लामाबादस्थित एक शिया मस्जिदमा भएको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको थियो, जसको जिम्मा इस्लामिक स्टेट समूहले लिएको थियो।
इस्लामिक स्टेट–खोरासानले गत महिना काबुलको एक रेस्टुरेन्टमा भएको घातक आत्मघाती विस्फोटको जिम्मेवारी पनि लिएको थियो।
प्रारम्भिक युद्धविराम बारम्बार उल्लङ्घन भएपछि यसै महिना साउदी अरेबियाले हस्तक्षेप गर्दै अक्टोबरमा अफगानिस्तानद्वारा पक्राउ परेका तीन पाकिस्तानी सैनिकको रिहाइमा मध्यस्थता गरेको थियो।एएफपी













