काठमाडौं-
आगामी निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका विवादित मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा दुर्गा प्रसाईँ पुनः पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
प्रसाईँलाई आइतबार बिहान भक्तपुरस्थित उनकै निवासबाट प्रहरीले पक्राउ पुर्जी थमाउँदै नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जगेबुका अनुसार उनलाई ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दा’ मा अनुसन्धानका लागि पक्राउ गरिएको हो। प्रशासनको पछिल्लो आदेशसँगै प्रसाईँ अब फागुन २२ गतेसम्म हिरासतमा रहनेछन्, जबकि प्रतिनिधि सभा सदस्यको निर्वाचन फागुन २१ गते हुँदैछ।
राजावादी अभियन्ताका रूपमा चिनिने प्रसाईँ पछिल्लो समय पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका छन्। यसअघि फागुन ४ गते पक्राउ परेका उनी सर्वोच्च अदालतको आदेशमा फागुन १३ गते मात्रै रिहा भएका थिए। उनकी पत्नी उमा प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो।
सरकारले प्रसाईँका मागका विषयमा पटक–पटक वार्ता गरे पनि सहमति हुन सकेको छैन। उनले आफ्ना माग पूरा नभएको भन्दै निरन्तर रूपमा निर्वाचन बिथोल्ने र अराजक अभिव्यक्ति दिँदै आएका थिए। निर्वाचनको मुखमा शान्ति सुरक्षामा दख्खल पुग्न सक्ने भन्दै प्रहरीले उनलाई कडा निगरानीमा राखेर यो कदम चालेको हो।













