२०८२ फाल्गुन २२ गते, शुक्रबार १३:३०

पर्सा क्षेत्र नं. १ र २ को मतगणना बिहान १० बजेदेखि सुरु हुने २४ घण्टाभित्र परिणाम निकाल्ने तयारी : प्रजिअ दाहाल

वीरगन्ज-

पर्सा जिल्लाका निर्वाचन क्षेत्र नं. १ र २ को मतगणना शुक्रबार बिहान १० बजेदेखि सुरु हुने भएको छ। यस सम्बन्धमा शुक्रबार बिहान बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो।

वीरगन्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा बसेको सर्वदलीय बैठकले निर्वाचन आयोगले तय गरेको मापदण्डअनुसार मतगणना गर्ने सहमति गरेको छ। सहमतिअनुसार एक पटकमा एक निर्वाचन क्षेत्रमा पर्ने दुई वटा वडाको मत गणना गरिनेछ।

सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले मतगणना सुरु भएको २४ घण्टाभित्र परिणाम निकाल्ने गरी निर्वाचन कार्यालयले तयारी गरेको जानकारी दिनुभयो।

उहाँले मतगणना स्थलमा प्रत्येक दलका उम्मेदवारबाट एक–एक जना प्रतिनिधि र स्वतन्त्र उम्मेदवारका तर्फबाट अधिकतम पाँच जना प्रतिनिधिलाई मात्र उपस्थित रहने सहमति भएको पनि बताउनुभयो।

बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल, नेकपा लगायतका दलका प्रतिनिधि, स्वतन्त्र उम्मेदवार तथा उनीहरूका प्रतिनिधि र प्रमुख निर्वाचन अधिकृतको उपस्थिति रहेको थियो।

पोडकास्ट सुन्नुहोस