२०८२ फाल्गुन २३ गते, शनिबार १०:३६

निर्वाचन परिणाम: ३० क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाको सानदार उदय

काठमाडौँका सबै क्षेत्रसहित २२ सिटमा 'घण्टी' विजयी, पुराना दलहरू रक्षात्मक अवस्थामा

 काठमाडौँ –

प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा मुलुकभर ‘परिवर्तनको लहर’ देखिएको छ । शनिबार बिहान ८ बजेसम्म सार्वजनिक भएको ३० निर्वाचन क्षेत्रको अन्तिम परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गर्दै पुराना राजनीतिक दलहरूलाई स्तब्ध पारेको छ ।

घोषित ३० सिटमध्ये रास्वपा एक्लैले २२ सिटमा जित दर्ता गरेको छ । विशेषगरी संघीय राजधानी काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी भएका छन् । रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट भारी मतान्तरले विजयी भएका छन् भने बाँके, मोरङ, कास्की, स्याङ्जा, रूपन्देही, महोत्तरी, धनुषा र भक्तपुरका विभिन्न क्षेत्रमा समेत रास्वपाले आफ्नो वर्चस्व कायम गरेको छ ।

नेपाली कांग्रेसले हालसम्म ५ निर्वाचन क्षेत्रमा जित निकालेको छ । कांग्रेसले हिमाली तथा पहाडी जिल्लाहरू तेह्रथुम, रसुवा, मनाङ, मुस्ताङ र दैलेख–१ मा आफ्नो विरासत जोगाउन सफल भएको छ ।

यता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमबाट र सोही पार्टीका महेन्द्रबहादुर शाही कालिकोटबाट विजयी भएका छन् । नेकपाले हालसम्म २ सिटमा जित निश्चित गरेको छ । नेकपा एमालेले भने बाँके–२ बाट मोहम्मद इस्तियाक राईमार्फत आफ्नो पहिलो जितको खाता खोलेको छ ।

प्रमुख विजेताहरूको सूची:

  • रास्वपा: रवि लामिछाने (चितवन–२), काठमाडौँ (१–१०), कास्की (२ र ३), धनुषा–३ लगायत २२ क्षेत्र ।

  • नेपाली कांग्रेस: मनाङ, मुस्ताङ, रसुवा लगायत ५ क्षेत्र ।

  • नेकपा: पुष्पकमल दाहाल ‘प्रचण्ड’ (रुकुम), महेन्द्रबहादुर शाही (कालिकोट) ।

  • नेकपा एमाले: मोहम्मद इस्तियाक राई (बाँके–२) ।

अझै १३५ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी छ । प्रारम्भिक रुझानअनुसार धेरै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता कायम राखिरहेका छन्, जसले गर्दा संसद्मा नयाँ शक्तिको निर्णायक भूमिका हुने देखिएको छ ।

पोडकास्ट सुन्नुहोस