वरगन्ज-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू ऐतिहासिक मतका साथ विजयी भएका छन् । जिल्लाभर पार्टीको सानदार जितपछि रास्वपा पर्साका जिल्ला सभापति एवं क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद हरि पन्तले एक सन्देश जारी गर्दै मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।
धन्यवाद सन्देश जारी गर्दै सभापति पन्तले आफूसहित जिल्लाका चारै क्षेत्रबाट रास्वपाका उम्मेदवारहरूको विजयलाई ‘परिवर्तनको लहर’ को रूपमा व्याख्या गर्नुभएको छ । उहाँले भन्नुभयो, “पर्सा क्षेत्र नं. १ बाट म लगायत जिल्लाका चारै क्षेत्रमा रास्वपालाई निर्वाचित गराउनुहुने सम्पूर्ण जिल्लावासी, मतदाता, शुभेच्छुक, पार्टीका नेता, कार्यकर्ता तथा परिवारका सदस्यहरू प्रति ऋणी छु । तपाईँहरूको यो विश्वासले देशमा भ्रष्टाचार र कुशासन अन्त्य गर्ने हाम्रो अभियानलाई थप ऊर्जा मिलेको छ ।”
पर्सामा प्राप्त यो नतिजालाई राजनीतिक विश्लेषकहरूले परम्परागत राजनीतिको अन्त्य र नयाँ शक्तिको उदयका रूपमा हेरेका छन् । समानुपातिकतर्फ समेत पर्सामा रास्वपा नै पहिलो पार्टी बन्न सफल भएको छ ।
पर्सामा रास्वपाका विजयी उम्मेदवारहरू:
-
पर्सा क्षेत्र नं. १: हरि पन्त
-
पर्सा क्षेत्र नं. २: सुशील कुमार कानु
-
पर्सा क्षेत्र नं. ३: रमाकान्त चौरसिया
-
पर्सा क्षेत्र नं. ४: टेक बहादुर शाक्य
नवनिर्वाचित सांसद पन्तले आगामी दिनमा निर्वाचित सबै प्रतिनिधिहरू मिलेर परिवर्तनलाई संस्थागत गर्ने, बेथिति र भ्रष्टाचार विरुद्ध लड्ने तथा विधिको शासन स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । “हामी देशलाई प्रगतिको बाटोमा लैजान प्रतिबद्ध छौँ,” सन्देशमा उल्लेख छ, “यो यात्रामा तपाईँहरूको निरन्तर सुझाव, सल्लाह, माया र आशीर्वादको सधैँ आवश्यकता रहनेछ ।”
जिल्लामा रास्वपाको यो ‘ऐतिहासिक सफलता’ ले स्थानीय स्तरमा पार्टीको प्रभावलाई बलियो बनाएको छ भने राष्ट्रिय राजनीतिमा पनि पर्साको यो नतिजाले भ्रष्टाचार विरोधी अभियानलाई ठूलो बल पुर्याउने अपेक्षा गरिएको छ ।












