२०८२ फाल्गुन २७ गते, बुधबार १२:१९

कांग्रेसमा एकता र रूपान्तरण आवश्यक : गोपालमान श्रेष्ठ

काठमाडौं –

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीभित्र एकता र रूपान्तरणको आवश्यकता औंल्याएका छन् । उनले पार्टी सभापति गगन थापालाई सम्बोधन गर्दै हालै सम्पन्न संघीय संसदको निर्वाचनको परिणाम अपेक्षाअनुसार नआए पनि लोकतन्त्रको रक्षा, विधिको शासन सुदृढीकरण र राजनीतिक स्थायित्वलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

श्रेष्ठले देश अहिले पुनः लयमा फर्कने प्रक्रियामा रहेको उल्लेख गर्दै थापाको नेतृत्वले पार्टीभित्र नयाँ आशा र दिशानिर्देश दिएको बताए । उनका अनुसार निर्वाचन परिणामले नेपाली कांग्रेसलाई समयअनुकूल बन्न, युवाहरूको आकांक्षा आत्मसात गर्न र संगठनात्मक रूपमा रूपान्तरण हुन स्पष्ट सन्देश दिएको छ ।

उनले निर्वाचन परिणामलाई केवल नेतृत्वको असफलता मात्र नभई जनताको परिवर्तनको चाहनाअनुसार पार्टीलाई पूर्ण रूपमा रूपान्तरण गर्न नसकिएको चेतावनीका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । श्रेष्ठले अब वडा तहदेखि गाउँ, नगर, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म संगठन सुदृढीकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

थापाले देखाएको साहस, दृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताले पार्टीका कार्यकर्तालाई अझ दृढ बनाएको उल्लेख गर्दै उनले यस्तो कठिन अवस्थामा पार्टीभित्र निराशा वा विचलन ल्याउनु देश र पार्टी दुवैका लागि हितकर नहुने बताए। उनले सबै कांग्रेसीजन एकढिक्का भएर पार्टीलाई सुदृढ बनाउन लाग्नुपर्ने आवश्यकता पनि औंल्याए ।

पोडकास्ट सुन्नुहोस