काठमाडौं –
भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले सामाजिक सञ्जाललाई ‘टक्सिक’ संस्कृति भएको बताउँदै खेलाडीहरूलाई त्यसबाट टाढा राख्नु आवश्यक रहेको बताएका छन् । हालै भारतले टि–२० विश्वकप २०२६ को उपाधि जितेपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले टोलीको सफलताको मुख्य कारण खेलाडीहरूलाई बाहिरी दबाब र सामाजिक सञ्जालको प्रभावबाट जोगाउनु रहेको बताए ।
भारतले आफ्नो फाइनल खेलमा न्यूजिल्यान्डलाई ९६ रनले पराजित गर्दै अहमदाबादस्थित नरेन्द्रमोदी स्टेडियममा उपाधि जितेको थियो । गम्भीरका अनुसार प्रतियोगिताको दौरान टोलीले “बाहिरी डिस्टर्व” घटाउने रणनीति अपनाएको थियो, जसका कारण खेलाडीहरूले आलोचना र अपेक्षाको दबाबबिना प्रदर्शनमा ध्यान दिन सके । “आजको समयमा सामाजिक सञ्जाल अत्यन्तै नकारात्मक भएको छ । खेलाडीहरू पनि मानिस हुन, उनीहरूबाट गल्ती हुनु स्वाभाविक हो,” उनले भने ।
उनले आफू सामाजिक सञ्जालमा आउने टिप्पणीप्रति जवाफदेही नभई आफ्ना खेलाडी र वास्तविक क्रिकेट समर्थकप्रति मात्र जिम्मेवार रहेको स्पष्ट पारे । प्रशिक्षकको रूपमा आफ्नो मुख्य काम आलोचकलाई गलत सावित गर्नु नभई खेलाडीलाई समर्थन र सुरक्षा प्रदान गर्नु रहेको उनले बताए ।
गम्भीरले सामाजिक सञ्जालमा भ्युज र लाइकका लागि नकारात्मक कथानक बनाइने प्रवृत्ति बढेको भन्दै यस्तो वातावरणबाट खेलाडीलाई जोगाउनु आवश्यक रहेको धारणा व्यक्त गरे । साथै उनले खेलमा आक्रामकता स्वाभाविक भएको र देशका लागि खेल्दा खेलाडीहरूले जित्नका लागि पूर्ण प्रयास गर्ने भएकाले त्यसलाई अनावश्यक रूपमा आलोचना गर्न नहुने पनि बताए । एएनआई












