२०८२ फाल्गुन २७ गते, बुधबार १२:१८

पश्चिम एसियाको तनावले भारतमा ग्यासको हाहाकार: मूल्यमा भारी वृद्धि, आपूर्ति ठप्प

काठमाडौ

पश्चिम एसिया (मध्य पूर्व) मा चुलिँदो सैन्य तनावका कारण भारतमा खाना पकाउने ग्यास (एलपिजी) को चरम अभाव देखिएको छ । ढुवानी मार्गमा अवरोध आएपछि एलपिजीको आपूर्ति श्रृङ्खला प्रभावित हुँदा सर्वसाधारणदेखि ठूला उद्योगीसम्म मारमा परेका छन् ।

आपूर्तिमा गिरावट र मूल्य वृद्धि

ग्यासको हाहाकार भइरहेकै बेला भारत सरकारले गत ७ मार्चदेखि लागू हुने गरी ग्यासको मूल्यमा भारी वृद्धि गरेको छ । नयाँ दरअनुसार घरेलु ग्यास सिलिन्डरमा ६० रुपैयाँ र कमर्सियल (व्यावसायिक) सिलिन्डरमा ११५ रुपैयाँ वृद्धि गरिएको छ । मध्य प्रदेशमा व्यावसायिक सिलिन्डरको मूल्य १ हजार ७ सय ७३ बाट बढेर १ हजार ८ सय ८८ भारतीय रुपैयाँ पुगेको छ ।

​आपूर्तिमा आएको संकटका कारण भारतका १० वटा ठूला राज्यहरूमा व्यावसायिक ग्यास वितरणमा पूर्ण रोक लगाइएको छ । ग्यास डिपोहरूमा सर्वसाधारणको घण्टौँसम्म लामो लाइन लाग्ने गरेको छ ।

होटल र पर्यटन क्षेत्र संकटमा

ग्यास अभावको प्रत्यक्ष असर बेंगलुरु, दिल्ली, हैदरावाद र मुम्बईजस्ता महानगरका रेस्टुरेन्टहरूमा परेको छ । व्यवसायीहरूले ग्यासको ठूलो भण्डारण नगर्ने भएकाले आपूर्ति रोकिनेबित्तिकै धेरै होटलहरूले कार्य सञ्चालन घटाएका छन् भने कतिपय अस्थायी रूपमा बन्द भएका छन् । यसबाट स्विग्गी र जोमाटोजस्ता अनलाइन फुड डेलिभरी प्लेटफर्महरू समेत प्रभावित भएका छन् ।

हर्मुजको घाँटीमा अवरोध र उत्पादन कटौती

भारतले वार्षिक रूपमा खपत गर्ने करिब ३१.३ मिलियन टन एलपिजीमध्ये ६२ प्रतिशत आयातमा निर्भर छ । सो आयातको ठूलो हिस्सा पश्चिम एसियाको हर्मुजको घाँटी हुँदै आउने गर्दछ । उक्त मार्ग अवरुद्ध भएपछि तेल उत्पादक राष्ट्रहरूले उत्पादन घटाउन थालेका छन् । इराकले आफ्नो दक्षिणी तेलखानीको उत्पादन ७० प्रतिशतले घटाएर १.३ मिलियन ब्यारेल प्रतिदिनमा झारेको छ भने कुवेत पेट्रोलियम कर्पोरेसनले ‘आपतकाल’ घोषणा गरेको छ ।

सरकारको प्राथमिकता र नयाँ विकल्प

संकट टार्न भारत सरकारले देशभित्रका रिफाइनरीहरूलाई उत्पादन बढाउन निर्देशन दिएको छ । वितरण प्रणालीमा ठूला उद्योगभन्दा सर्वसाधारण र अस्पताल एवं शैक्षिक क्षेत्रजस्ता आपतकालीन प्रयोजनलाई प्राथमिकतामा राखिएको छ ।

​यसैबीच, पश्चिम एसियामा जारी अनिश्चितताका कारण भारतीय अधिकारीहरूले ग्यास आयातका लागि नयाँ विकल्पको खोजी सुरु गरेका छन् । हाल अल्जेरिया, अस्ट्रेलिया, क्यानडा र नर्वे लगायतका देशहरूबाट ग्यास ल्याउने विषयमा उच्चस्तरीय छलफल भइरहेको बुझिएको छ ।

पोडकास्ट सुन्नुहोस