२०८२ चैत्र १७ गते, मंगलवार १०:५२

अहिंसा र सत्यको सन्देश बोकेको महावीर जयन्ती ,नेपाल लगायतविश्वभर श्रद्धा र उल्लासका साथ मनाइँदै

वीरगन्ज –

आज विश्वभर जैन धर्मावलम्बीहरूले २६२५औँ महावीर जयन्ती श्रद्धा, भक्ति र उत्साहका साथ मनाइरहेका छन्। अहिंसा, सत्य र आत्मसंयमको सन्देश बोकेको यो दिवस जैन धर्मका प्रवर्तक महावीर को जन्मोत्सवका रूपमा मनाइन्छ।

इतिहासअनुसार महावीरको जन्म ईसा पूर्व ५९९ मा भारतको वर्तमान बिहार राज्यस्थित वैशाली क्षेत्रमा भएको मानिन्छ। उनलाई जैन धर्मका २४औँ तीर्थंकरका रूपमा पूजा गरिन्छ, जसले मानव जीवनलाई अहिंसा, अपरिग्रह (लोभ त्याग) र सत्यको मार्गमा डोर्याउने दर्शन दिएका थिए।

महावीर जयन्ती हरेक वर्ष चैत–बैशाखतिर (मार्च–अप्रिल) पर्ने गर्दछ, जुन महावीर जयन्तीका रूपमा चिनिन्छ। यस दिनलाई ‘महावीर जन्मकल्याणक’ पनि भनिन्छ, र जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले विशेष पूजाआजा, र्‍याली, प्रवचन तथा दान–पुण्यका कार्यक्रम गरी मनाउने परम्परा छ।

नेपालमा पनि यो पर्व बहुधार्मिक सद्भावको प्रतीक बनेको छ। वैदिक, बौद्ध, जैन, सिखलगायत विभिन्न समुदायले संयुक्त रूपमा महावीर जयन्ती मनाउँदै आएका छन्। काठमाडौं, ललितपुरलगायत स्थानमा रहेका जैन मन्दिरहरूमा आज विशेष पूजा, प्रवचन र धार्मिक कार्यक्रमहरू आयोजना गरिएको छ।

महावीरले दिएका “जिउँदो प्राणीलाई कुनै पनि हालतमा पीडा नदेऊ” भन्ने अहिंसाको सन्देश आजको हिंसा र द्वन्द्वले भरिएको विश्वका लागि झन् सान्दर्भिक बनेको छ। उनका शिक्षाले मानवता, सहअस्तित्व र शान्तिको मार्ग देखाउने भएकाले महावीर जयन्ती केवल धार्मिक पर्व मात्र नभई नैतिक चेतनाको उत्सवका रूपमा समेत मनाइने गरिएको छ।

पोडकास्ट सुन्नुहोस