२०८२ चैत्र १८ गते, बुधबार १५:१७

छात्रामाथि दुर्व्यवहारको आरोपमा मधेश विश्वविद्यालयका कर्मचारी गद्दी पक्राउ

वीरगन्ज –

वीरगन्जस्थित मधेश विश्वविद्यालय भित्र एक छात्रामाथि दुर्व्यवहार भएको आरोपमा एक कर्मचारी पक्राउ परेपछि शैक्षिक संस्थामा महिला सुरक्षाको विषय फेरि केन्द्रमा आएको छ। प्रशासन शाखामा कार्यरत राजु गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा हिजो(मंगलबार)लिएको हो।

प्रहरी अनुसन्धानअनुसार, आरोपितले एक छात्रामाथि अनैतिक दबाब सिर्जना गर्दै शैक्षिक मूल्यांकनलाई समेत प्रभाव पार्ने धम्की दिएको उजुरीमा उल्लेख छ। यस्तो व्यवहारले विद्यार्थीको आत्मविश्वास, शैक्षिक स्वतन्त्रता र सुरक्षामा प्रत्यक्ष असर पार्ने देखिएको छ।

पीडित छात्राले सुरुवातमा सहयोगको बहानामा नजिकिएका कर्मचारीले पछि फोन र सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देश पठाउन थालेको बताएकी छन्। प्रस्ताव अस्वीकार गरेपछि शैक्षिक भविष्यमा असर पार्ने चेतावनी दिइएको आरोप पनि उजुरीमा समावेश छ। यसैका आधारमा उनले चैत १४ गते औपचारिक उजुरी दर्ता गराएकी थिइन्।

घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ। पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार घटनाको थप अनुसन्धान जारी रहेको छ।

यस घटनाले शिक्षण संस्थाभित्र ‘महिला मैत्री वातावरण’ कत्तिको सुनिश्चित छ भन्ने गम्भीर प्रश्न उठाएको छ। विज्ञहरूका अनुसार विद्यालय तथा विश्वविद्यालयहरूमा स्पष्ट आचारसंहिता, गुनासो सुन्ने सुरक्षित संयन्त्र, लैङ्गिक संवेदनशीलता सम्बन्धी तालिम, र कडा अनुगमन प्रणाली अनिवार्य हुनुपर्छ।

साथै, यस्ता घटनाले अन्य छात्राहरू पनि पीडित हुनसक्ने आशंका बढाउने भएकाले पीडितमैत्री न्याय प्रणाली र गोपनीय उजुरी प्रक्रियालाई बलियो बनाउनु आवश्यक देखिन्छ। शैक्षिक संस्था केवल ज्ञान दिने स्थल मात्र नभई सुरक्षित र सम्मानजनक वातावरण निर्माण गर्ने जिम्मेवारी बोकेको स्थान भएकाले महिला सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग पनि उठेको छ।

यसैबीच, घटनामा संलग्न व्यक्ति मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतका नातेदार रहेको बताइएपछि घटनाले थप चर्चा पाएको छ। तर सरोकारवालाहरूले कुनै पनि व्यक्तिको पहुँचभन्दा माथि उठेर निष्पक्ष छानबिन र कडा कारबाही हुनुपर्नेमा जोड दिएका छन्।

दुई-तिन साता भित्र इरान युद्ध अन्त्य हुन सक्ने : सहयोगी देशलाई ट्रम्पको चेतावनी-‘आफ्नै तेल खोज्नुस्’

काठमाण्डौ-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण दुईदेखि तीन हप्ताभित्र रोक्न

दुई-तिन साता भित्र इरान युद्ध अन्त्य हुन सक्ने : सहयोगी देशलाई ट्रम्पको चेतावनी-‘आफ्नै तेल खोज्नुस्’

काठमाण्डौ-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण दुईदेखि तीन हप्ताभित्र रोक्न

पोडकास्ट सुन्नुहोस