२०८२ चैत्र २३ गते, सोमबार ११:४७

अब दुई दिन बिदा: नयाँ कार्यसंस्कृतिको सुरुआत आजदेखि, कार्यालय समय पनि फेरियो

काठमाडौं –

सरकारी कार्यसंस्कृतिमा ठूलो परिवर्तन गर्दै नेपाल सरकारले आजदेखि सातामा दुई दिन सार्वजनिक बिदा लागू गरेको छ । अबदेखि शनिबार र आइतबार नियमित बिदा हुने भएका छन्, जसले कर्मचारीदेखि विद्यार्थीसम्मको दैनिकीमा नयाँ तालमेल ल्याउने अपेक्षा गरिएको छ ।

गृह मन्त्रालयद्वारा राजपत्रमार्फत प्रकाशित सूचनाअनुसार यो व्यवस्था आजदेखि नै औपचारिक रूपमा कार्यान्वयनमा आएको हो । यससँगै सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरूमा अब हप्तामा दुई दिन विश्रामको अवसर सुनिश्चित भएको छ ।

बिदासँगै कार्यालय समय पनि परिमार्जन गरिएको छ । अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछन् । यसले सेवा प्रवाहलाई व्यवस्थित बनाउने र काम–जीवन सन्तुलन सुधार्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, हिउँदयाम (कात्तिक १६ देखि माघ १५ गतेसम्म) मा भने कार्यालय समय छोट्याइनेछ । उक्त अवधिमा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय खुला रहने राजपत्रमा उल्लेख गरिएको छ ।

सरकारको यो निर्णयले प्रशासनिक संरचनामा मात्रै होइन, समग्र जीवनशैलीमै परिवर्तन ल्याउने विश्वास गरिएको छ—अब हेर्न बाँकी छ, दुई दिनको बिदाले कामको उत्पादकत्व र सार्वजनिक सेवा कत्तिको प्रभावकारी बनाउँछ ।

पोडकास्ट सुन्नुहोस