काठमाण्डौ –
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ अप्रिल २०२६ मा वाशिङ्टन डी.सी.स्थित ह्वाइट हाउसमा पत्रकार सम्मेलनका क्रममा बोल्दै इरानलाई चेतावनी दिएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई सम्झौता गर्न र होर्मुज जलडमरूमध्य खोल्न दिएको समयसीमा सकिन लाग्दैछ। उनले चेतावनी दिएका छन्—यदि इरानले यो नगरेमा उसले “भारी बमबारी” र “नरक” सामना गर्नुपर्नेछ।
ट्रम्पले मंगलबार राति ८ बजे (तेहरान समय अनुसार बुधबार बिहान ३:३० बजे) सम्मको समय दिएका थिए। यद्यपि पछिल्ला केही हप्तामा उनले यस्ता अल्टिमेटमहरू बारम्बार दिएका छन् र हरेक पटक समयसीमा सार्दै आएका छन्। यसपटकको धम्की भने निकै विवादास्पद बनेको छ, किनकि सर्वसाधारण पूर्वाधारमाथि आक्रमण गर्नु युद्ध अपराध हुन सक्ने तर्क उठेको छ।
ट्रम्पले के भने?
ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल पोस्टमार्फत इरानले जलडमरूमध्य नखोलेमा प्रमुख पूर्वाधारहरूमा आक्रमण गर्ने धम्की दोहोर्याएका थिए।
सोमबार फेरि बोल्दै उनले भने , अमेरिकासँग यस्तो योजना छ जसअन्तर्गत मंगलबार मध्यरातसम्म इरानका सबै पुल र विद्युत् केन्द्रहरू ध्वस्त पार्न सकिन्छ।
उनले भने, “मध्यरातसम्म पूर्ण रूपमा ध्वस्त पार्न सकिन्छ।”
यसअघि पनि उनले तेल कुण्ड, पानी प्रशोधन तथा नुनिलो पानी शुद्धीकरण केन्द्रहरूमा आक्रमण गर्ने धम्की दिएका थिए।
इरानको प्रतिक्रिया के छ?
तेहरानले हालसम्म कडा प्रतिवाद गर्दै आएको छ। एक सैन्य कमाण्डरले ट्रम्पका धम्कीलाई “आधारहीन” र “भ्रमपूर्ण” बताएका छन्।
इरानी सेनाका प्रवक्ता इब्राहिम जोल्फाकारीले चेतावनी दिएका छन् । यदि गैर-सैन्य लक्ष्यमा आक्रमण दोहोरियो भने इरानले अझै व्यापक र कडा जवाफी कारबाही गर्नेछ।
इरानको विदेश मन्त्रालयले पनि अमेरिकी नागरिकलाई आफ्नो सरकारको “अन्यायपूर्ण र आक्रामक युद्ध” का लागि जिम्मेवार ठहर गर्न आग्रह गरेको छ।
के यो युद्ध अपराध हुन सक्छ?
सर्वसाधारणका लागि अत्यावश्यक पूर्वाधार (जस्तै पानी प्रशोधन केन्द्र) मा आक्रमण गर्नु जेनेभा सन्धि अनुसार युद्ध अपराध मानिन सक्छ।
यद्यपि केही पूर्वाधार सैन्य प्रयोजनका लागि प्रयोग भएमा लक्षित गर्न सकिने तर्क पनि छ। तर ट्रम्पले केही मात्र होइन, सबै विद्युत् केन्द्र ध्वस्त पार्ने धम्की दिएका छन्।
पूर्व अमेरिकी सैन्य कानुनविद् मार्गरेट डोनोभान भन्छिन , “पहिले यस्तो आक्रमण सधैं युद्ध अपराध हो भन्न हिचकिचाहट थियो, तर ट्रम्पको पछिल्लो अभिव्यक्तिले धेरैको धारणा बदलिएको छ।” उनले थपिन्, “यो प्रत्यक्ष रूपमा सर्वसाधारणलाई ठूलो विनाशतर्फ धकेल्ने धम्की हो।”
अन्तर्राष्ट्रिय प्रतिक्रिया
केही देशहरूले गोप्य रूपमा ट्रम्प प्रशासनलाई यस्तो आक्रमण नगर्न चेतावनी दिएका छन्। विशेषगरी खाडी राष्ट्रहरू इरानको प्रतिशोधको चिन्तामा छन्।
तर ह्वाइट हाउसले भने अमेरिका सधैं अन्तर्राष्ट्रिय कानुन पालना गर्ने बताउँदै चिन्तालाई खासै महत्व दिएको छैन।
ट्रम्पले भने ,“वास्तविक युद्ध अपराध भनेको इरानलाई आणविक हतियार बनाउन दिनु हो।”
वार्ताको अवस्था कस्तो छ?
ट्रम्पले सोमबार इरान वार्तामा “सक्रिय र इच्छुक” रहेको दाबी गरेका छन् र मध्यस्थमार्फत वार्ता राम्रो भइरहेको बताएका छन्।
तर पाकिस्तान, इजिप्ट र टर्कीको मध्यस्थतामा भइरहेको अप्रत्यक्ष वार्ता गत हप्ता अवरुद्ध भएको रिपोर्ट आएको छ।
४५ दिने युद्धविराम र होर्मुज जलडमरूमध्य खोल्ने प्रस्ताव पनि असफल भयो ।
ट्रम्पले यसलाई “पर्याप्त राम्रो नभएको” भने ,इरानले अस्वीकार गर्दै युद्ध स्थायी रूपमा अन्त्य हुनुपर्ने माग राख्यो
इरानले १० बुँदे प्रस्ताव पेश गर्दै आफ्नो सर्तअनुसार स्थायी शान्ति चाहेको जनाएको छ।
समग्रमा, स्थिति अत्यन्त संवेदनशील छ । सैन्य धम्की, कूटनीतिक असफलता, र अन्तर्राष्ट्रिय कानुनका प्रश्नहरूबीच तनाव अझै बढ्ने संकेत देखिएको छ।(सि.एन. एन)













