२०८२ चैत्र २८ गते, शनिबार १९:२७

भक्ति र श्रद्धाको महाकुम्भ: वीरगन्जको सडकमा उर्लियो ‘जय जगन्नाथ’ को नारा, हजारौँले ताने प्रभुको रथ

वीरगन्ज-

वीरगन्ज नगर आज भक्तिभावले एकाकार भएको छ। अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कॉन) वीरगन्जको आयोजनामा शनिबार तेस्रो पटक निकालिएको ‘श्री जगन्नाथ रथ यात्रा’ ले औद्योगिक नगरी वीरगन्जलाई आध्यात्मिक नगरीका रूपमा रूपान्तरण गरिदियो।

वीरगन्जको ऐतिहासिक माईस्थान मन्दिरबाट दिउँसो सुरु भएको रथ यात्रामा बारा, पर्सा, सिमरा र छिमेकी भारतीय सहरहरूबाट समेत आएका हजारौँ भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो। जब प्रभु जगन्नाथ, सुभद्रा र बलभद्रको भव्य रथ गुड्न थाल्यो, तब ‘हरे कृष्ण हरे राम’ र ‘जय जगन्नाथ’ को मन्त्रोच्चारणले सिङ्गो आकाश नै गुञ्जायमान भयो। भक्तजनहरूले सडकमा झाँकी प्रदर्शन गर्दै र भजन-कीर्तनमा झुम्दै नगर परिक्रमा गरेका थिए।

रथ यात्रालाई सामूहिक आरती गरी नगर परिक्रमा गराइएको थियो। माईस्थानबाट सुरु भएको यात्रा नगरका विभिन्न भागहरूको परिक्रमा गरी पुनः माईस्थानकै प्राङ्गणमा पुगेर समापन भएको थियो। यात्राका क्रममा सडकको दुवै किनारमा बसेका श्रद्धालुहरूले प्रभुको दर्शन गरी आशीर्वाद लिएका थिए।

कार्यक्रम इस्कॉन वीरगन्जका अध्यक्ष एवं कार्यक्रम सभापति मुक्तिनाथ गौरादासको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ उद्योगपति मुरलीधर रुङ्गटा रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको उपस्थिति रहेको थियो।

त्यस्तै, मुख्य यजमानका रूपमा सत्यनारायण क्याल र सह-यजमानका रूपमा निरज सर्राफ (मुन्ना) रहनुभएको थियो। रथ यात्राको समापनपछि सहभागी भक्तजनहरूका लागि जगन्नाथपुरीको प्रसिद्ध ‘खिचडी’ महाप्रसाद वितरण गरिएको थियो, जसलाई भक्तहरूले निकै श्रद्धापूर्वक ग्रहण गरे।

पोडकास्ट सुन्नुहोस