वीरगन्ज-
बढ्दो ग्यास मूल्य, दाउराको अभाव र आर्थिक कमजोर अवस्थाका कारण मधेसका ग्रामीण भेगमा परम्परागत इन्धन ‘गुइँठा’ फेरि लोकप्रिय बन्दै गएको छ । रौतहटसहित मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी आठ जिल्लाका गाउँघरमा गुइँठालाई वैकल्पिक ऊर्जाको रूपमा प्रयोग गर्ने क्रम उल्लेख्य रूपमा बढिरहेको देखिएको छ ।
रौतहटको ग्रामीण क्षेत्रमा त झन् गुइँठा दैनिक जीवनकै अभिन्न हिस्सा बन्न थालेको छ । चन्द्रपुर नगरपालिका-९ लगायतका गाउँमा स्थानीय बासिन्दा खाना पकाउन परम्परागत चुलोमै गाईभैँसीको गोबरबाट बनेको गुइँठा प्रयोग गरिरहेका छन् । विशेषगरी विपन्न, दलित तथा निम्न आय भएका परिवारले ग्यास किन्न नसक्ने अवस्था भएपछि सस्तो र सहज विकल्पका रूपमा गुइँठा रोजेका हुन् ।
बृन्दावन नगरपालिका-१ का अदित्यकुमार रजक भन्छन्, “ग्यास किन्न महँगो छ, ल्याउन पनि टाढा जानुपर्छ । घरमै भएको गोबरबाट गुइँठा बनाएर काम चलाइरहेका छौँ।”
वनजंगल घट्दै जाँदा दाउरा पाउन कठिन भएपछि गुइँठा झन् भरपर्दो इन्धन बनेको स्थानीय बताउँछन् । बृन्दावन-३ का प्रमोद यादवका अनुसार गुइँठाको आगोले खाना छिटो पाक्ने र धुँवा पनि तुलनात्मक रूपमा कम हुने भएकाले यसको प्रयोग बढ्दो छ । गोबरमा भुस, पराल र मकैको ठठेरो मिसाएर सुकाइने गुइँठा सजिलै तयार हुन्छ र लामो समयसम्म टिक्छ ।
गढीमाई नगरपालिका-८ का अशोक यादवका अनुसार दाउरा अभाव भएका क्षेत्रमा ‘गुइँठा दाउरा’ बनाउने चलनसमेत बढेको छ, जसले गुइँठालाई अझ प्रभावकारी इन्धन बनाएको छ । “पहिलेजस्तो सजिलै दाउरा पाइँदैन, त्यसैले गुइँठा नै भरपर्दो विकल्प बन्दै गएको छ,” उनले भने।
रोचक पक्ष के छ भने, केही स्थानीय तहले निःशुल्क ग्यास चुलो वितरण गरे पनि ग्रामीण बासिन्दाले ती चुलो थन्क्याएर गुइँठा नै प्रयोग गरिरहेका छन् । मौलापुर, फतुवा विजयपुर, कटहरिया, गुजरा, परोहा लगायत नगरपालिकाले ग्यास चुलो वितरण गरे पनि व्यवहारमा भने गुइँठाको प्रयोग घट्न सकेको छैन ।
रौतहटका गौर, इशनाथ, गरुडा, यमुनामाई, देवाही गोनाही, बृन्दावन, राजपुर लगायतका अधिकांश स्थानीय तहमा गुइँठा पुनः स्थापित इन्धन बन्दै गएको छ ।
यता चन्द्रपुर नगरपालिकाले करिब दुई हजारभन्दा बढी विद्युतीय चुलो वितरण गर्ने तयारी थालेको छ । नगरप्रमुख सञ्जयकुमार काफ्लेका अनुसार सबै वडामा विद्युतीय चुलो वितरणका लागि आवेदन संकलन भइसकेको छ ।
यद्यपि, ग्रामीण यथार्थ भने फरक छ-बिजुलीको अनियमितता, आर्थिक कठिनाइ र परम्परागत अभ्यासका कारण गुइँठा अझै पनि गाउँघरको भरपर्दो ऊर्जा बनेको छ ।
विशेषज्ञहरूका अनुसार गुइँठालाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके यसले दाउरा र ग्यासमा निर्भरता घटाउँदै ग्रामीण क्षेत्रमा दिगो ऊर्जाको विकल्प दिन सक्छ । मधेसका गाउँघरमा देखिएको यो प्रवृत्ति ऊर्जा संकटबीच स्थानीय समाधानको उदाहरणका रूपमा उभिँदै गएको छ ।













