२०८२ चैत्र २९ गते, आईतवार १९:४२

सांसद हरि पन्तको कडा निर्देशनपछि तातियो प्रशासन: वीरगन्ज नाकामा हुने ‘ढाट’ को अवैध असुली बन्द, प्रजिअ दाहालको ‘एक्सन’

वीरगन्ज-

लामो समयदेखि वीरगन्जको एकीकृत जाँच चौकी (ICP) र भन्सार नाका क्षेत्रमा मालवाहक ट्रकहरूबाट अवैध रूपमा उठाइँदै आएको ‘ढाट’ (अवैध शुल्क) असुली अन्ततः बन्द भएको छ। पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तको कडा निर्देशन र सक्रियतापछि पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालले उक्त अवैध कार्यलाई पूर्ण रूपमा रोक लगाएका हुन्।

सांसदको चेतावनीपछि प्रशासनको कदम

यसअघि गृह मन्त्रालयले समेत अवैध असुली रोक्न निर्देशन दिएको भए पनि स्थानीय तह र केही समूहको मिलेमतोमा रातिको समयमा लुकीछिपी रकम उठाउने गरिएको थियो। यो विषयमा सांसद हरि पन्तले गम्भीर आपत्ति जनाउँदै प्रजिअ दाहाललाई तुरुन्तै अवैध असुली बन्द गर्न र कानुन मिच्नेलाई कारबाही गर्न निर्देशन दिएका थिए। सोही निर्देशनको पालना गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा निकाय परिचालन गरी नाका क्षेत्रमा राखिएका अवैध गुम्ती र ढाटहरू हटाएको छ।

वीरगन्ज महानगरपालिका र जितपुर–सिमरा उपमहानगरपालिकाको नाममा ठेकेदारहरूले प्रति ट्रक ५ सयदेखि १ हजार भारुसम्म जबरजस्ती असुली गरिरहेका थिए। यसले गर्दा ढुवानी लागत बढ्नुका साथै अन्तर्राष्ट्रिय जगतमा समेत मुलुकको छवि धुमिल भइरहेको व्यवसायीहरूको गुनासो थियो। प्रशासनको पछिल्लो कदमले ट्रक चालक र ढुवानी व्यवसायीहरूले ठूलो राहत महसुस गरेका छन्।

प्रधानमन्त्रीको चासो र पन्तको पहल

सांसद पन्तले यस विषयमा प्रधानमन्त्री बालेन शाहसँग समेत छलफल गरी नाकामा भइरहेको बेथितिबारे ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्रीको निर्देशन र स्थानीय जनप्रतिनिधिको दबाबपछि सरकारले नाकामा हुने कुनै पनि गैरकानुनी शुल्क असुलीलाई शून्य सहनशीलता अपनाउने नीति लिएको हो।

सांसद पन्तले अबका दिनमा फेरि यस्ता अवैध गतिविधि दोहोरिएमा कडा कारबाही हुने चेतावनी दिएका छन्। उनले विकास र समृद्धिका लागि कानुनी शासन अनिवार्य रहेको भन्दै उद्योगी व्यवसायीलाई ढुक्क भएर काम गर्न आग्रह गरेका छन्।

पोडकास्ट सुन्नुहोस