वीरगन्ज-
वीरगन्ज महानगरपालिका वडा नम्बर ९ मा डेरा गरी बस्ने एक महिलाले तिन पुरुषको सहयोगमा आफ्नै श्रीमानको हत्या प्रयास गरेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। छिमेकीहरूको सतर्कता र प्रहरीको तदारुकताका कारण एउटा ठूलो दुर्घटना टरेको छ।
रौतहट स्थायी ठेगाना भई वीरगन्ज-९ मा डेरा गरी बस्ने एक दम्पतीबीच आइतबार दिउँसो विवाद भएको थियो। विवादकै बीच श्रीमतीले आफूसँगै रहेका अन्य तिन पुरुषको सहयोगमा श्रीमानमाथि फलामको ‘रड’ ले साङ्घातिक आक्रमण गरेकी थिइन्। घरभित्रबाट आउने श्रीमानको चिच्याहट बाहिर सुनिने डरले उनीहरूले कोठाभित्र ठूलो स्वरमा गीत (म्युजिक) बजाएका थिए।
यद्यपि, चर्को आवाजमा गीत बजेको र कोठाभित्र शङ्कास्पद गतिविधि भएको महसुस गरी छिमेकीहरूले तत्कालै प्रहरीलाई खबर गरेका थिए।
खबर पाउनासाथ पुगेको प्रहरी टोलीले ढोका खोलेर भित्र पस्दा श्रीमानमाथि निर्घात कुटपिट भइरहेको अवस्थामा फेला पारेको थियो। प्रहरीले घटनास्थलबाटै श्रीमती र उनीसँगै रहेका अन्य तिन पुरुष गरी चारै जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका तिन पुरुषमध्ये एकजनाको साथबाट ‘प्रहरी परिचयपत्र’ (ID Card) बरामद भएको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति वास्तविक प्रहरी हुन् वा नक्कली परिचयपत्र प्रयोग गरेका हुन् भन्ने विषयमा प्रहरीले आधिकारिक पुष्टि गरिसकेको छैन। पक्राउ परेका र घाइतेको पहिचान हालसम्म गोप्य राखिएको छ।
फलामको रडले लागेर गम्भीर घाइते भएका श्रीमानको हाल वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था र घटनाको वास्तविक कारणबारे थप विवरण आउन बाँकी छ।
यस विषयमा बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने जनाएको छ।













