वीरगन्ज-
नयाँ वर्ष २०८३ को पहिलो दिन वीरगन्ज महानगरपालिका–१६ नगवामा विशेष धार्मिक अनुष्ठान ‘श्री हनुमान आराधना तथा महाआरती’ आयोजना हुने भएको छ। श्री नगवा दुर्गा पूजा समितिको आयोजनामा सञ्चालित ‘श्री १०८ सप्ताह हनुमान चालीसा पाठ’ सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा यो भव्य कार्यक्रम गर्न लागिएको हो।
हिन्दु पत्रकार संघ पर्साका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले कार्यक्रमको तयारीबारे विस्तृत जानकारी गराएको छ। नयाँ वर्षको सुरुवात आध्यात्मिक जागरणका साथ गर्ने उद्देश्यले वैशाख १ गते मंगलबारका दिन नगवा पोखरीस्थित प्रसिद्ध श्री बैधि माई मन्दिर परिसरमा यो उत्सव मनाइनेछ।
कार्यक्रमको तालिकाअनुसार वैशाख १ गते बिहानैदेखि बेलुका ५ बजेसम्म निरन्तर हनुमान आराधना सञ्चालन हुनेछ। त्यसैगरी, साँझ ६:३० बजे विशेष ‘महाआरती’ सुरु हुने आयोजकले जनाएका छन्। महाआरतीको समापनपछि उपस्थित सम्पूर्ण भक्तजनहरूका लागि प्रसाद वितरणको समेत व्यवस्था मिलाइएको छ।
आयोजक समितिले यस विशेष धार्मिक कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन सम्पूर्ण वीरगन्जबासी, स्थानीयवासी तथा भक्तजनहरूमा हार्दिक निमन्त्रणा गरेको छ। नयाँ वर्षको पहिलो दिन गरिने यस आराधनाले समाजमा धार्मिक चेतना र शान्ति फैलाउने विश्वास हिन्दु पत्रकार संघका अध्यक्ष रौनियारले व्यक्त गर्नुभयो।













