वीरगन्ज-
सरकारी सञ्चारमाध्यममै मात्र सरकारी विज्ञापन प्रकाशन गर्ने निर्णयको विरोधमा नेपाल पत्रकार महासंघले चाँडै आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ। महासंघका सचिव अशोक तिवारीले यस्तो जानकारी दिनुभएको हो।
नेपाल प्रेस युनियन पर्सा शाखाले आज वीरगन्जमा आयोजना गरेको “सरकारी निर्णयले निजी मिडियामा पार्ने आर्थिक तथा व्यवसायिक असर” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव तिवारीले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नुभयो।
उहाँले सरकारी विज्ञापनबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गर्नु प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको आरोप लगाउनुभयो। “पहिले नै आर्थिक रूपमा कमजोर रहेका नेपाली सञ्चारमाध्यमलाई संरक्षण गर्नुको सट्टा सरकारले अझै कमजोर बनाउने नीति ल्याएको छ,” उहाँले भन्नुभयो।
सरकारले निर्णय फिर्ता नलिए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी समेत तिवारीले दिनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले सरकारको निर्णयले साना लगानीका सञ्चारमाध्यम बन्द हुने जोखिम बढेको बताउनुभयो। उहाँका अनुसार स्थानीय तह र जनताको समस्या सरकारसमक्ष पुर्याउने यस्ता साना मिडियाका लागि सरकारी विज्ञापन अत्यन्त महत्वपूर्ण हुन्छ।
“सरकारले सञ्चार क्षेत्रको संरक्षण गर्न विज्ञापन नीतिमा सुधार गर्नु आवश्यक छ,” उहाँले जोड दिनुभयो। निर्णय सच्याइएन भने सञ्चारकर्मीहरू सडक संघर्षमा उत्रिन बाध्य हुने उहाँको भनाइ थियो।
नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तुलसी भण्डारी, प्रदेश अध्यक्ष लालबाबु शेख, समाजवादी प्रेस संगठनका प्रदेश अध्यक्ष मनोज पटेल, महासंघ मधेस प्रदेशका सचिव दीपक गौतम, जिल्ला अध्यक्ष ओमप्रकाश खनाललगायतले सरकारको निर्णयले सञ्चार क्षेत्र कमजोर हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर असर पर्ने धारणा व्यक्त गरेका थिए।
वक्ताहरूले सरकारको निर्णयविरुद्ध सबै सञ्चारकर्मी एकजुट भएर आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताए।
कार्यक्रमको सञ्चालन प्रेस युनियन पर्साका सचिव इरफान अलीले गर्नुभएको थियो।













