२०८३ भाद्र १७ गते, बुधबार १०:५१

पोखरा ल्याइएका १०२ शवमध्ये २१ को सनाखत, ७६ शव प्लास्टिकको झोलामा ‘नम्बर’ दिएर पुरियो

पोखरा

रसुवाको भोटेकोसीमा गत भदौ १० गते आएको भीषण बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका क्रममा भेटिएका १०२ वटा शवमध्ये २१ जनाको सनाखत भएको छ।

मङ्गलवारसम्म २१ वटा शवको पहिचान गरी सम्बन्धित परिवारलाई बुझाइएको स्थानीय प्रशासनले जनाएको छ। परीक्षण तथा व्यवस्थापनका लागि कास्कीको पोखरा ल्याइएकामध्ये पहिचान हुन नसकेका ७६ वटा शवलाई पोखरा–१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन (गाडिएको) गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार शवहरूलाई गहिरो खाडल खनेर हावा नछिर्ने प्लास्टिकको झोलामा राखी, निश्चित सङ्केत नम्बर (कोड) दिएर माटोले पुरिएको छ। शव पुरिसकेपछि माथिबाट गमला राखेर पहिचानका लागि सङ्केत नम्बरको ‘स्ट्यान्ड’ समेत बनाइएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा अझै पाँच वटा शव बाँकी रहेका छन्। ती शवहरूमा एकभन्दा बढी परिवारले तस्बिरका आधारमा दाबी गरेपछि थप प्राविधिक परीक्षण गर्न बाँकी राखिएको छ।

सहायक प्रजिअ बरालका अनुसार लामो समयसम्म शव गृहमा राख्दा दुर्गन्ध फैलिनुका साथै महामारीको जोखिम हुने भएकाले सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो। गाडिएका सबै शवको डिएनए (DNA) नमुना सुरक्षित राखिएकाले पछि परिवारको डिएनए परीक्षण रिपोर्ट मिलेको खण्डमा शव सम्बन्धित आफन्तलाई हस्तान्तरण गर्न सकिने प्रशासनले जनाएको छ।

हालसम्म धादिङबाट प्राप्त २२, गोरखाबाट ७, नवलपरासीबाट २५ र तनहुँबाट प्राप्त २२ वटा शवको यसै प्रक्रियाअनुसार व्यवस्थापन गरिसकिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस